सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ३०औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देश

३०औँ अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश

अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका फरक क्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

विश्व स्वास्थ्य संगठनको आव्हानमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धन तथा उनीहरूको समावेशीकरण र सशक्तीकरणका लागि सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ लाई ‘अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस’का रूपमा विश्वभर मनाउने गरिएको छ । यस वर्ष ‘समावेशी, सुलभ र दिगो कोभिड-१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्‍वभर यो दिवस मनाइँदैछ । हाम्रो देशमा पनि ‘हाम्रो प्राथमिकताको आधार‚ अपाङ्गता भएका व्यक्तिको अधिकार’ भन्ने राष्ट्रिय संकल्पका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउन लागिएको छ ।

नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने  र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्‍चित गरेको छ । यस संवैधानिक प्रावधानको कार्यान्वयनका लागि नेपाल सरकारले आवश्यक कानुन तथा नियमावलीको समेत तर्जुमा गरिसकेको छ ।  अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा अनुभूत हुनेगरी यी संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षा, स्वास्थ्य‚ रोजगारी लगायत राज्यबाट प्रदान गरिने सार्वजनिक सेवा‚ सुविधा र अवसरहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्दै अन्य नागरिक सरह राज्यका निर्णय प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गर्न राज्यले आफ्नो क्षमता विकास गर्नु पर्दछ र यसको लागि आवश्यक संयन्त्रहरू निर्माण गर्नु पर्दछ । यसका साथै अपाङ्गता भएका व्यक्तिहरूका लागि रोजगारमूलक एवम् सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउन र उनीहरूका लागि अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न सरोकारवाला निकायले ध्यान दिनु पर्दछ ।

अन्त्यमा, अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस क्षेत्रमा काम गर्ने नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था सबैलाई थप जिम्मेवारीका साथ काम गर्न उत्प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ मङ्सिर १७ गते, शुक्रबार ।