सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सवका अवसरमा गर्नुभएको सम्बोधन

विश्व शान्तिका प्रवर्तक गौतम बुद्धको यस पवित्र जन्मस्थलमा अवस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयको सत्रौँ वार्षिकोत्सवको अवसरमा विश्वविद्यालय परिवारलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु । यस विश्वविद्यालयलाई यहाँसम्म ल्याइपुर्‍याउन योगदान गर्ने प्राज्ञिक जगत, विश्वविद्यालय प्रशासन, विद्यार्थी, स्थानीय जनप्रतिनिधि तथा समुदाय सबैको सराहना गर्दछु ।

बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन, अध्यापन र अनुसन्धानसमेतको अभिबृद्धि गर्ने उद्देश्य लिएर स्थापित यस विश्वविद्यालयलाई विश्वस्तरको एउटा उत्कृष्ट प्राज्ञिक संस्था बनाउन सम्बद्ध सबैलाई प्रेरणा प्राप्त हुने विश्वास लिएको छु । बुद्धद्वारा प्रवद्र्धित सामुहिकता र मानव प्रेमको भावना जागृत गराउन सके समाजमा विद्यमान तीब्र स्वार्थ र द्वन्द्व निवारण गर्दै दिगो शान्ति कायम गर्न मद्दत पुग्नेछ ।

बुद्धको जीवनमा प्रकृति र प्रेम अभिन्न रूपले जोडिएको हामी पाउँछौँ । मानवताका लागि बुद्धद्वारा प्रतिपादित दर्शन, ज्ञान र विचारले सम्पूर्ण जगतकै शान्तिका लागि मार्गदर्शन गरेको छ । यसले एकातिर बुद्धमा रहेको दया र करुणाको भाव झल्काउँछ भने अर्कातिर उनमा वाल्यावस्थादेखि नै प्राणी र वनस्पतिसँग सान्निध्य रहेको स्पष्ट पार्दछ ।

अन्ततः बुद्धको ज्ञानप्राप्ति पनि बोधि वृक्षकै छहारीमा हुनपुग्यो । बुद्ध र प्रकृतिबीच रहेको यस्तो घनिष्ट सम्बन्धलाई बुद्धका अनुयायीहरूले गहिरोसँग आत्मसात गर्दै व्यवहारमा उतार्न सक्नु पर्दछ । यसबाट प्रकृति संरक्षण र पर्यावरण सन्तुलनमा समेत ठूलो योगदान पुग्दछ भन्ने मलाई लागेको छ ।

हाम्रो मुलुकको मौलिक परम्पराको रूपमा विकसित भएको बुद्धकालीन ज्ञान तथा शिक्षालाई विद्यालय तहदेखि उच्च तहको पाठ्क्रममा समावेश गर्दै समय सापेक्ष तुल्याउनु पर्दछ । विशेष रूपमा कपिलवस्तु, रूपन्देही र नवलपरासी तथा देशैभर फैलिएका बुद्ध र बौद्ध शिक्षासँग सम्बन्धित पुरातात्विक साँस्कृतिक सम्पदाको उत्खनन्, संरक्षण तथा सम्बर्द्धन गर्न अग्रसर हुनु पर्दछ ।

लुम्बिनी क्षेत्रमा जमिनमुनि दबिएका कतिपय पुरातात्विक साँस्कृतिक महत्वका वस्तुहरू अझैसम्म फेला परिरहेकाले तिनको थप अन्वेषणमा सम्बद्ध निकायले ध्यान पुर्‍याउनु पर्दछ । विश्व सम्पदामा सूचीकृत लुम्बिनीका मूर्त तथा अमूर्त सम्पदाहरू विश्वकै अमूल्य निधि भएकाले यसको दिगो संरक्षण तथा सम्बद्र्धन गर्न लुम्बिनी विकासको गुरुयोजना तर्जूमा भएको हो ।

यस महत्वपूर्ण गुरु योजनाको कार्यान्वनमा विलम्ब हुनुको कारण पत्ता लगाएर त्यसको कार्यान्वयन चाँडै हुनसके लुम्बिनी एक उत्कृष्ट अन्तर्राष्ट्रिय साँस्कृतिक पर्यटकीय स्थल बन्नेछ र मुलुककै अर्थतन्त्र सुदृढीकरणमा टेवा पुर्‍याउनेछ भन्ने मलाई लागेको छ ।

बुद्धका कालजयी उपदेश तथा शिक्षाहरूलाई आ—आफ्ना पाठ्यक्रममा यथाशक्य समावेश गर्न नेपालका सम्पूर्ण विश्वविद्यालयहरूलाई मेरो विशेष आग्रह छ । छब्बीस सय वर्षदेखि एसिया महाद्वीपको भूगोलमा स्थापित बौद्ध दर्शन आजको युगमा सम्पूर्ण विश्वभरि फैलिइरहेको छ । विश्वका प्रतिष्ठित विश्वविद्यालयहरूले बौद्ध दर्शनलाई आफ्नो प्राज्ञिक कार्यक्रमको रूपमा समावेश गर्दै गएका छन् ।

बुद्धकालीन ज्ञान र शिक्षालाई वर्तमान सन्दर्भसँग जोडेर शिक्षा प्रणाली, पाठ्यक्रम र पठनपाठनका क्षेत्रमा अवलम्बन गर्न सकेको खण्डमा लुम्बिनी विश्वविद्यालयको बहुआयामिकता थप अभिबृद्धि हुनेछ । यसबाट हाम्रो महान बौद्ध सभ्यताको विरासतलाई भावी पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्न सक्दछ ।

प्राज्ञिक विकासको पूर्वसर्त विश्वविद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रता हो । विश्वविद्यालयमा विशुद्ध प्राज्ञिक वातावरण कायम गरी राज्यका लागि आवश्यक दक्ष जनशक्तिको उत्पादन गर्न पाठ्यक्रमलाई अनुसन्धान केन्द्रित बनाउनु पर्दछ ।

हाम्रो मुलुकबाट ठूलो संख्यामा अध्ययनका लागि विदेश जाने प्रवृत्तिलाई न्यूनीकरण गर्न उच्च शिक्षामा लगानी बृद्धि गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गरिनु पर्दछ । हाम्रा शैक्षिक केन्द्रहरू शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बनिरहेका छन् भन्ने चर्चा हुने गरेको विषयमा सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिँदै त्यसको निराकरण गर्नु पर्दछ ।

विश्वविद्यालयहरूले अब्बल शैक्षिक जनशक्तिको उत्पादनमा मद्दत पुर्‍याउँदै मुलुकको रोजगारी बृद्धि साथै समुन्नत आर्थिक विकासमा ठोस योगदान गर्नु पर्दछ ।  यस प्रसंगमा, लुम्बिनी बौद्ध विश्वविद्यालयको ऐनको प्रस्तावना बमोजिम आफ्नो लक्ष्य र उद्देश्यलाई ओझेलमा नपारी स्वदेशी तथा विदेशी विद्यार्थी एवं अनुसन्धानकर्तालाई आकर्षित गर्न ध्यान दिनु पर्दछ भन्ने मलाई लागेको छ ।

यस विश्वविद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित त्रियान सम्मेलनले बौद्ध दर्शन र शिक्षालाई प्रवद्र्धन गर्ने विषयमा महत्वपूर्ण निष्कर्ष निकालेको मैले महसुस गरेको छु । यस प्रकारका अभ्यासले अन्य प्राज्ञिक निकायलाई समेत प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।

अहिले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन फैलिइरहेको समाचारहरू आइरहेका छन् । त्यसैले कोरोना विरुद्धको खोप लगाउन तिब्रता दिन सम्बन्धित निकायको ध्यान आकृष्ट गराउन चाहन्छु ।

अन्त्यमा, आज सम्मानित हुने सबैलाई हार्दिक बधाईसहित लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापनाको १७ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी भई केन्द्रीय पुस्तकालयको उद्घाटन गर्ने अवसर प्राप्त भएकोमा विश्वविद्यालय प्रशासनलाई धन्यवाद दिँदै पुनः विश्वविद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७८ साल मङ्सिर १६ गते बिहीबार ।

रूपन्देही, लुम्बिनी