सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले स्वयम्भूस्थित ऐतिहासिक ज्ञानमाला भजन खलः को पुनर्निर्मित सत्तल समुद्‍घाटनका अवसरमा गर्नुभएको सम्बोधन

यस पवित्र स्वयम्भुनाथ परिसरमा ऐतिहासिक ज्ञानमाला भजन खलः को पुनर्निर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा पुनर्निर्माण कार्यमा संलग्न नेपाल सरकारको पुरातत्व विभाग, पुनर्निर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिँदै भजन खलः को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
राष्ट्रको उत्थानमा समर्पित हुन गठन गरिएका संगठन वा संस्थाहरूको गौरवपूर्ण इतिहास र कार्यले वर्तमान तथा भविष्यमा समेत सधैँ महत्वपूर्ण सन्देश प्रवाह गर्दै समाजलाई सत्मार्गमा लाग्न उत्प्रेरित गरिरहेको हुन्छ । ज्ञानमाला भजन खलः त्यस्तै ऐतिहासिक विरासत बोकेको सामाजिक तथा साँस्कृतिक संस्था हो, जसले समाजलाई जागृत गर्दै आएको छ र सधैँ गरिरहनेछ भन्ने मलाई लागेको छ ।
ज्ञानमाला भजन खलः स्थापना गरिनुको प्रमुख उद्देश्य समाजमा शान्तिका प्रवर्तक बुद्धका शाश्वत उपदेशको प्रवद्र्धन गरी सद्भाव, सहिष्णुता र सामाजिक चेतना फैलाउनु, नागरिकलाई साक्षर बनाउनु तथा साँस्कृतिक जागरण ल्याएर महिला हकहितको पक्षमा समेत नागरिकलाई गोलबन्द बनाउनु रहेको थियो ।
आम जनतालाई अँध्यारोमा राख्ने त्यसबेलाको निरंकुश जहानीयाँ शासन व्यवस्थामा समग्र सामाजिक हितका निम्ति अग्रसर हुन ठूलो चुनौतिको सामना गर्नुपर्दथ्यो । तैपनि भजन खलः ले जसरी आफ्नो दायित्व अविचलित रूपमा पूरा गर्‍यो, त्यसको स्मरण मात्रले पनि हामी सबैलाई आजपर्यन्त प्रेरित गरिरहेको छ । यस्तो ऐतिहासिक जिम्मेवारी बहन गरेको संस्थाले समाजसापेक्ष क्रियाकलाप अगाडि बढाउँदै अगाडि बढ्नु सराहनीय विषय हो भन्ने मलाई लाग्छ ।
ज्ञानमालाका संस्थापकहरूले निरन्तर भजन तथा गीत–संगीत जस्ता रचनात्मक क्रियाकलापद्वारा समाजमा उज्यालो छर्ने कार्य गरिरहँदा कुनैपनि अवरोधले गलाउन सकेन ।
साँस्कृतिक, धार्मिक र जातीय विविधताको अनुपम फूलवारीका रूपमा रहेको हाम्रो बिशेषता र मूल्यमान्यताको अभिबृद्धिमा खलःले सधैँ योगदान पुर्‍याइरह्यो । आजको दिनले बौद्ध दर्शनको अनुसरण गर्दै मन, वचन र कर्मद्वारा शान्ति, सहिष्णुता र भ्रातृत्वको सन्देश विस्तार गर्न र मानव जीवनलाई अनुशासित, सुखी र समृद्ध बनाउन थप प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।
जनताका आस्थाका मौलिक सांस्कृतिक धरोहरहरूको सम्बर्द्धन गर्न त्यस वरपरका प्राकृतिक सम्पदाको संरक्षण गरी पर्यावरण सन्तुलन कायम राख्नु अति आवश्यक हुन्छ । प्रकृति र संस्कृति एक अर्काका पुरक हुन् । त्यसैले यस्ता पुरातात्विक सम्पदा र साँस्कृतिक स्थलहरूको स्वच्छता र कलात्मक सौन्दर्यतामा जोड दिँदै त्ससको मौलिकपनलाई जोगाउन आवश्यक हुन्छ । यसका निम्ति यस क्षेत्रमा रहेका प्राकृतिक विज्ञान संग्रहालय, ज्ञानमाला भजन खलः जस्ता संस्थाहरूले यहाँको प्रकृतिलाई सिँगारेर अमूल्य साँस्कृतिक निधिहरूलाई जगेर्ना गर्न ध्यान दिनु पर्दछ ।
यस्तो सिर्जनात्मक कार्यबाट एकातिर हाम्रा मूर्त तथा अमूर्त सम्पदाको संरक्षण हुन पुग्दछ भने अर्कातिर यो स्थल एक दिगो साँस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा समेत विकसित हुनेछ । यसबाट स्थानीय समुदायको आयआर्जनमा मद्दत मिल्दछ भने देशको आर्थिक विकासमा समेत टेवा र प्रोत्साहन पुग्दछ ।
यो पुनर्निर्मित सत्तल उद्घाटन भइरहेको समयमा अतीतको थोरै मात्र पनि स्मरण गरेको खण्डमा संस्थाको स्थापना गर्ने र संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन भूमिका खेल्ने व्यक्तित्वहरूप्रति सम्मान हुनेछ भन्ने मलाई मलाई लागेको छ । २०७२ सालको विनाशकारी भूकम्पले भवनमा ठूलो क्षति पु¥याए पनि त्यसले खःलको उद्देश्यलाई विचलित बनाउन सकेन र ऐतिहासिक दायित्व पूरा गर्न प्रेरणा प्रदान गरिरहेको महसुस गरेको छु ।
विश्वमा उत्कृष्ट साँस्कृतिक नगरको रूपमा समेत चिनिएको काठमाडौँ उपत्यकामा धुवाँ र धुलोले गर्दा व्यापक रूपमा हावामा प्रदूषण फैलिइरहेको छ र जनस्वास्थ्यमा गंभीर क्षति पु¥याइरहेको छ । यसबाट बच्न खाना पकाउनका लागि स्वच्च विद्युतीय ऊर्जाको प्रयोग गर्न र बाटोघाटोलाई स्वच्छ राख्न अपरिहार्य भएको विषयमा सम्बन्धित निकायको ध्यान पुग्नु पर्दछ ।
यो कृषि प्रधान मुलुक हो तर पनि कृषि र बनजन्य उत्पादनमा आत्मनिर्भर हुन नसक्दा हामीले ठूलो व्यापार घाटा व्यहोर्नु परिरहेको छ । जलस्रोत सम्पदामा सम्पन्न हाम्रो मुलुक अहिले पूर्वाधार विकासको चरणमा भएकाले इँट्टा तथा सिमेन्ट उद्योग, यातायात प्रवद्र्धन र औद्योगिक विकासका निम्ति स्वच्छ विद्युतीय ऊर्जाको उत्पादन बढाउँदै त्यसको सदुपयोगमा ध्यान पुर्‍याउनु पर्दछ । विश्व जलवायु संकटतर्फ धकेलिइरहेको परिवेशमा माननव जातिले विकास निर्माण प्रक्रियालाई अगाडि बढाइरहँदा बुद्धका उपदेशहरूलाई सधैँ ध्यान पुर्‍याउनु पर्ने टड्कारो आवश्यकता महसुस गरेको छु ।
बुद्धको एउटा प्रसिद्ध उपदेश छ– अप्प दिपो भवः, जसको अर्थ हुन्छ– हरेक व्यक्तिले आफ्नो प्रकाश आफैं बन्नुपर्दछ । यस दिव्य सन्देशलाई नेपाली मनले आत्मसात गर्दै बुद्ध जन्मस्थल यस पवित्र भूमिबाटै विश्वलाई पुनः एकपटक सन्देश प्रवाह गर्न अग्रसर बन्नु पर्दछ । यो नै मानव सभ्यताको संरक्षण तथा मानवीय सुख, दिगो शान्ति र समृद्धिको निम्ति दिगो मार्ग हो ।
सत्तल पुनर्निर्माण गर्न आफनै स्रोत तथा साधन परिचालन गरेर नेपाली स्वाभिमान कायम राख्न लामो इतिहास रच्न सफल यस खलः ले गरेको प्रयास प्रशंसनीय छ । यसबाट अरुलाई समेत प्रेरणा मिल्ने अपेक्षा लिएको छु ।
धन्यवाद ।
२०७८ साल मङ्सिर ४ गते शनिवार ।

स्वयम्भुनाथ परिसर, काठमाडौँ ।