सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महोत्तरी जिल्लास्थित मटिहानीमा निर्मित रङ्गशालाको उद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

महोत्तरी जिल्लाको प्राचिन साँस्कृतिक शहरमा आयोजित यस विशेष समारोहमा यहाँका आदरणीय दाजूभाई तथा दिदिबहिनीहरुसँग भेट्न पाउँदा मलाई खुसी लागेको छ ।  मलाई यहाँ प्राप्त न्यानो स्वागतका लागि धन्यवाद दिन चाहन्छु ।

हाम्रो मुलुकमा गणतन्त्रको स्थापना भएसँगै विकास निर्माण प्रक्रियाले मूर्तरुप लिइरहेका छन् ।  यसलाई तीब्रता दिँदै जनआकांक्षालाई पूरा गर्नु पर्दछ । यस यथार्थतालाई आत्मसात गरी स्थानीय तहहरू जनताका आवश्यकतालाई सम्बोधन गर्न अग्रसर हुनु खुसीको विषय हो ।

खेलकूद मानव जीवनको अभिन्न अङ्ग हो । खासगरी युवाहरुमा खेलकूद लोकप्रिय रहेको छ । मटिहानीमा निर्मित यस रङ्गशालाले युवाहरुको आकांक्षा समेट्दै खेलकूदको विकासमा सहयोग पुर्‍याउने विश्वास लिएको छु ।

जनक सभ्यताद्वारा प्रशिक्षित यो भूमि प्राचिन कालदेखि नै तपोभूमिको रुपमा रहँदै आएको छ । यो भूमि प्राचीन ऋषिहरूको ज्ञान विवेचना र मीमांसाको थलो हो । अष्टावक्र, याज्ञवल्क्य, गार्गी र मैत्रेयी जस्ता विद्वान विदुषीहरूले यसै भूमिमा साधना गरेका हुन् ।

३०० वर्ष भन्दा पुरानो यस क्षेत्रको संस्कृत विद्यालयले हाम्रो देशमा शिक्षाको ज्योति छर्न महत्वपूर्ण योगदान गरेको छ । शैक्षिक जागरणका अग्रदूत बालागुरु षडानन्दले समेत अध्ययन गरेको यस शैक्षिक केन्द्रको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो ।

नेपालको समग्र इतिहासमा मिथिला क्षेत्रको विशिष्ट स्थान छ । प्रसिद्ध मैथिली साहित्यकार विद्यापति समेतको योगदानले नेपालको मौलिक वाङ्मयलाई समृद्ध तुल्याएको छ । जनकनन्दिनी सीताको जन्मस्थल समेत रहेको यस भूमिमा आजसम्म पनि जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरिबीको समस्या हुनु हाम्रो लागि चुनौति बनेको छ । अझैपनि बालविवाह, अनमेल विवाह, दहेज र तिलक प्रथा तथा बोक्सीप्रथा जस्ता विकृति विसंगति हुनु दुःखको विषय हो । यसको अन्त्य गर्न इतिहासबाट प्रेरणा लिँदै वर्तमानमा हामीले प्रयास गर्नुपर्दछ ।

 

यहाँको प्रसिद्ध साँस्कृतिक स्थल जलेश्वर मन्दिर, लक्ष्मीनारायण मन्दिर सहित प्राचिन साँस्कृतिक धरोहर तथा मस्जिदहरूको जगेर्ना हुनु पर्दछ । पूर्वपश्चिम राजमार्गले यस जिल्लालाई समेटेकाले यहाँ विकासका पूर्वाधारहरू थप विस्तार गर्न सके पर्यटन व्यवसाय फस्टाउन सक्दछ ।

यहाँका ऐतिहासिक शहर बजारहरूको सौन्दर्य बढाई जनताको सहज बसोवासका लागि खानेपानी, गुणस्तरीय सडक, विद्युतीकरण, सञ्चार सुविधा, ढलनिकास र हरियाली प्रवद्र्धनमा ध्यान दिनु पर्दछ ।  अन्नको भण्डारको रूपमा परिचित यस प्रदेशमा कृषिको आधुनिकीकरण तथा व्यावसायीकरण गर्न जोड दिनु आवश्यक छ ।

यतिमात्र होइन कृषि क्षेत्रको समग्र विकासबाट थप रोजगारी प्रवद्र्धन भई असुरक्षित रोजगारीका लागि विदेश पलायन हुनबाट यहाँका युवाहरूलाई जोगाउन सकिन्छ । यसैगरी उद्यमशिलताको व्यापक विकास गरी आत्मनिर्भर र स्वावलम्बी अर्थतन्त्र निर्माण गर्न सके बढ्दो व्यापार घाटा न्यून गर्न सकिन्छ । यसबाट ‘समृद्ध नेपाल र सुखी’ नेपाली बनाउने राष्ट्रिय संकल्प पूरा हुन मद्दत पुग्ने विश्वास लिएको छु ।

चुरे श्रृङ्खला यहाँको जीवन हो । यहाँको दिगो विकासका लागि समेत चुरे संरक्षणमा केन्द्रित भई तराई जोगाउनु पर्दछ । यस क्षेत्रमा बग्ने नदीहरूद्वारा सिर्जित बाढी र डुबानले जनधनको ठूलो क्षति पु¥याउँदै गएकाले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न आवश्यक छ । अन्नको भण्डारको रुपमा रहेको यस क्षेत्रमा चुरेको  अनियन्त्रित दोहनलाई रोकेर मरुभूमि हुनबाट बचाउनु पर्दछ ।

अन्तमा, रङ्गशाला लगायत यहाँको भौतिक विकासमा सहयोग पुर्‍याउने तथा समाजको विकास तथा सद्भावमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरिएकोमा उहाँहरुलाई बधाई दिँदै यस्तो रचनात्मक कार्य गर्ने मटिहानी नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७८ साल मङ्सिर ६ गते सोमबार ।

मटिहानी, महोत्तरी