सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७ को शुभकामना सन्देश

नेपाली जनताको बलिदानपूर्ण संघर्षको फलस्वरुप जननिर्वाचित संविधानसभाद्वारा २०७२ साल आश्विन ३ गते नेपालको संविधान जारी भएकोमा सम्मान र त्यस दिनको स्मरण स्वरुप आज हामी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइरहेका छौँ । यस सुखद् अवसरमा देशभित्र तथा बाहिर रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, मुलुकमा लोकतान्त्रिक प्रणाली स्थापना गर्न मार्गदर्शन गर्नुहुने अग्रजहरूप्रति सम्मान प्रकट गर्दछु ।

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक लगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै  विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ । यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन् ।

लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोण सहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेका छन् । नयाँ संविधान जारी भएयताका वर्षहरूमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको छ  ।  यससँगै, जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित गर्नु परेको छ।

नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य हासिल गर्न मुलुकमा उपलब्ध जल¸ जमिन र जंगल जस्ता प्राकृतिक स्रोत र साधनहरूको दिगो सदुपयोग गर्दै उद्यमशीलताको विकासमार्फत् उत्पादन वृद्धि गर्नु पर्दछ । कृषिको आधुनिकीकरणसहित स्वदेशी उत्पादनद्वारा आयात प्रतिस्थापन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु पर्दछ ।  राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नु पर्दछ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिक आकांक्षालाई कार्यरूप दिनु हाम्रो युगिन अभिभारा हो।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को यस महत्त्वपूर्ण अवसरमा जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संविधानको मर्म र भावना व्यवहारमा रूपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार प्रयास जारी राख्न म सबैमा आह्‍वान गर्दछु ।

धन्यवाद ।

२०७८ असोज ३ गते आइतबार ।