सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व ,२०७८ को शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस पर्वमा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा अर्चना एवं जीवित देवी कुमारी र गणेश तथा भैरवको रथयात्रा गरी धुमधामका साथ मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षाका कारण फलेको राम्रो अन्‍नबालीका लागि वर्षाका देवता इन्द्रप्रति कृतज्ञता प्रकट गर्दै मनाइने यस पर्वले प्रकृति र मानव बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ।

प्रकृतिसँग यसरी जोडिएका जात्रा एवं पर्वहरू सयौं वर्षदेखि निरन्तर चलिआएका हुनाले हाम्रो मुलुक  प्रकृति र संस्कृतिको अतुलनीय संगमको रूपमा रहेको स्पष्ट हुन्छ । समृद्ध इतिहास र परम्पराका जीवन्त उदाहरणका रूपमा रहेका कुमारी इन्द्रजात्रा जस्ता मौलिक पर्वहरूको संरक्षण गरी भावी पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यता हस्तान्तरण गर्नुपर्दछ ।

मूलत: काठमाडौं उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवम् ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु ।

अन्तमा, कोभिड १९ को महामारीबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्दै सावधानीपूर्वक  हाम्रा चाडपर्वहरू मनाउन सम्बद्ध सबैमा आव्हान गर्दछु । कुमारी इन्द्रजात्रा पर्वले प्राकृतिक स्रोतहरूको सन्तुलित र दिगो सदुपयोग गर्दै सामाजिक न्याय सहितको समृद्धि हासिल गर्ने लक्ष्यतर्फ अघि बढ्न हामी सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ असोज ३ गते आइतबार ।