सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री,
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति,
विभिन्न प्रतिष्ठानका कुलपतिहरू तथा अन्य पदाधिकारीहरु,
राष्ट्रसेवकहरू,
भद्र महिला तथा सज्जनवृन्द !
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी आयोजना गरेकोमा मलाई खुसी लागेको छ । देशभरिका विभिन्न विधाका प्रतिभावान कलाकारहरूले सृजना गरेका कलालाई राष्ट्रिय मञ्चमार्फत प्रदर्शन गरी थप उत्कृष्ट कला सृजनाका लागि प्रेरित गर्ने यस प्रतिष्ठानको कार्यको प्रशंसा गर्न चाहन्छु ।
कुनै पनि मुलुकको कलाको स्तरबाट त्यहाँको सभ्यताको विकास मापन हुन्छ । जीवनको अनुभव, समाज र प्रकृतिको संयोगबाट कलाको सृजना हुन्छ । त्यसैले कला सृजनामा जीवन र जीवनका रङ्गहरू हुन्छन् । प्राचीनकालदेखि नै जीवन र जगतलाई बुझ्न र बुझाउन मानव जातिले साहित्य र संगीत जस्तै ललितकलाको पनि साधना गर्दै आएका छन् । विविध सांस्कृतिक सम्पदायुक्त हाम्रो देश मौलिक कला र संस्कृतिले सम्पन्न छ । अनुपम प्राकृतिक सुन्दरताले सजिएको यहाँको परिवेशले सर्जकहरूलाई आफ्नो सिर्जना कार्यमा उत्प्रेरित गरिरहेको मैले महसुस गरेको छु । कला प्रष्फुटनका निम्ति प्राप्त यो वातावरणको थप उपयोग गर्न सम्बद्ध सबैको ध्यान पुग्नेनै छ ।
प्राचीनकालमा प्रसिद्ध कलाकार अरनिकोका कालजयी सृजनाले नेपालमा मात्र होइन विदेशमा पनि ख्याति कमाएका दृष्टान्तहरू हाम्रा सामू जीवित छन् । जीवन र जगतको रहस्य खोज्ने तथा बोध गराउने पौभा, थाङ्का, मण्डल, भित्ते चित्र, काष्ठकला, मूर्तिकला तथा ग्रन्थचित्रले हाम्रो समाजको विकासक्रम र परम्परालाई चित्रण गरेका छन् । मध्यकालमा रचना गरिएका वास्तुकलाका अद्वितीय सिर्जनाहरू हाम्रा सामू आजसम्म जीवन्त बनेर रहेका छन् । ललितकला प्रज्ञा प्रतिष्ठानले नेपाली मौलिक कलाको अध्ययन अनुसन्धान गर्न गराउन तथा विशुद्ध नेपाली पहिचानसहित अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गर्ने ललितकलाको विकास गर्न नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । कलाकारहरूले विश्वका विभिन्न भागमा विकसित कलाका सिद्धान्त र प्रवृत्तिकोे अध्ययन गरी आफ्नै मौलिक सृजनाको माध्यमबाट देशको प्रतिष्ठा अभिवृद्धि गर्न अग्रसर हुनु पर्दछ । प्रतिष्ठान स्थापनाको वास्तविक उद्देश्य पनि यही हो भन्ने मलाई लागेको छ ।
हाम्रो मुलुक समृद्धि हासिल गर्ने साझा यात्रामा अघि बढिरहेको छ । यस संकल्पलाई सर्जक र कलाकारहरूले गहिरोसँग आत्मसात गर्दै देश विकास प्रक्रियामा सबैलाई थप जागरुक, जिम्मेवार र सक्रिय बनाउन लाग्नु पर्दछ भन्ने मलाई लागेको छ ।
विनासकारी भूकम्प तथा कोभिड—१९ महामारीले सृजना गरेका अनेकौं प्रतिकूलताका साथै स्रोत र साधनको सीमामा बाँधिएर पनि ललितकलाको विकासमा प्रतिष्ठानले उल्लेखनीय कार्यहरू गर्दै आएको छ । यस कार्यमा नेपाल सरकारबाट समेत निरन्तर सहयोग पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु । आजको यस अवसरमा अरनिको राष्ट्रिय सम्मानद्वारा सम्मानित हुनुहुने स्रष्टाहरूलाई म हार्दिक बधाई दिन चाहन्छु ।
यस प्रदर्शनीमा समावेश गरिएका उत्कृष्ट कलाकृतिका स्रष्टालाई पुरस्कृत गर्नुका साथै प्रदर्शनीमा सहभागी सबै कलाकृतिहरू समावेश गरी कलाकारको परिचयसहितको पुस्तक (क्याटलग) प्रकाशन गरेकोमा प्रतिष्ठानको सराहना गर्न चाहन्छु । आज विभिन्न विधामा पुरस्कृत हुनुहुने सबै कलाकारहरू बधाईका पात्र हुनुहुन्छ । प्रदर्शनीमा सहभागी कलाकारहरूलाई भविष्यमा अझ उत्कृष्ट कला सृजना गर्न सफलता मिलोस् भनी म शुभकामना व्यक्त गर्दछु । यस प्रदर्शनीमा परिपक्व र परिष्कृत कलाकृतिदेखि युवा कलाकारका सृजना समेत समेटिएको मैले पाएको छु । तसर्थ यस प्रदर्शनीलाई अनुभव र आकांक्षाको मिलन विन्दु समेत मान्न सकिन्छ भन्ने मलाई लागेको छ । कला साधकहरूको उत्सवको रूपमा यो प्रदर्शनी सम्पन्न भई कलाकारहरू बिच सहकार्य अभिवृद्धि हुनका साथै ललितकलाको विकासमा थप नयाँ पाइला बन्न सकोस् भन्ने शुभेच्छासहित प्रदर्शनीको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु ।
अन्तमा, नयाँ वर्ष २०७८ ले हामी सबैमा सुस्वास्थ्य, शान्ति र समृद्धि प्रदान गरोस् भनी हार्दिक मंगलमय शुभकामना प्रकट गर्दछु ।
धन्यवाद !
२०७८ साल वैशाख २ गते बिहीबार ।