सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको आह्वानमा राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँग भेटघाट

विज्ञप्ति

मंगलबार, ३ चैत्र २०७७

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले आह्वान गर्नुभए बमोजिम प्रमुख  राजनीतिक दलका शीर्ष नेताहरू तथा पूर्व प्रधानमन्त्रीहरूसँगको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मुलुकको समसामयिक परिस्थिति तथा राष्ट्रिय सरोकारका विषयहरूमा विचार आदान—प्रदान भएको छ ।

राष्ट्रपति भवन, महाराजगञ्जमा आयोजना भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्षहरू श्री महन्थ ठाकुर र श्री उपेन्द्र यादव तथा नेता राजेन्द्र महतो उपस्थित हुनुहुन्थ्यो ।

त्यसैगरी कार्यक्रममा नेकपा (एमाले)का तर्फबाट श्री रामबहादुर थापा, श्री ईश्वर पोखरेल, श्री सुवासचन्द्र नेम्वाङ, श्री विष्णुप्रसाद पौडेल, नेपाली कांग्रेसका तर्फबाट श्री रामचन्द्र पौडेल, श्री विमलेन्द्र निधि, डा. शशांक कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का तर्फबाट श्री नारायणकाजी श्रेष्ठ र श्री देवप्रसाद गुरुङको उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषदका पूर्व अध्यक्ष श्री खिलराज रेग्मी कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष श्री चित्रबहादुर केसी र नेता श्री जनकराज शर्मा तथा नेपाल मजदुर किसान पार्टीका नेता श्री प्रेम सुवालको पनि उपस्थिति रहेको थियो ।

शीर्ष नेताहरूलाई कार्यक्रममा स्वागत गर्दै सम्माननीय राष्ट्रपतिज्यूले हाम्रो मुलुकको राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रपतिज्यूले भन्नुभयो, “हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको छ । यहाँको नेतृत्वले सधैँ उच्च राजनीतिक संस्कार कायम गर्दै आएको छ । यो असल संस्कार निरन्तर कायम रहनु पर्दछ ।”

नेपालको अतिक्रमित भू–भाग सामेल गरी गत जेठ महिनामा नयाँ राजनीतिक नक्सा प्रकाशन गर्न दलहरूले प्रदर्शन गरेको अभूतपूर्व राष्ट्रिय एकताका सन्दर्भमा यसैगरी सर्वपक्षीय भेटघाटको आयोजना गरेको स्मरण गर्दै सबै दलका नेताहरूप्रति राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभयो ।

राष्ट्रपतिज्यूले कोभिड–१९ को महामारीका कारण मुलुकको अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका क्षेत्रमा परेको प्रतिकूल प्रभावका ब ारेमा चर्चा गर्नुका साथै यसको सामना गर्न अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताले नेपाल सरकारको अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिनुभयो ।

शिक्षा, स्वास्थ्य, अर्थतन्त्र, खानेपानी, जलवायु परिवर्तन जस्ता राष्ट्रिय जीवनका विभिन्न क्षेत्रसहित नागरिकका दैनिक समस्या र जनजीविकासम्बन्धी विषयमा आपसी संवाद र छलफललाई निरन्तरता दिन शीर्ष नेताहरूलाई सम्माननीय राष्ट्रपतिज्यूले आग्रह गर्नुभयो ।

सो अवसरमा राष्ट्रपतिज्यूले मित्रराष्ट्र बंगलादेशका महामहिम राष्ट्रपतिबाट त्यहाँका राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना  हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको उल्लेख गर्नुभएको थियो ।

(रूपनारायण भट्टराई)

प्रवक्ता