सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस २०७७ को उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सहिद परिवार, आन्दोलनमा भाग लिने क्रममा बेपत्ता, घाइते एवं अङ्गभङ्ग हुनुभएका व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दछु ।

विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरङ्कुश राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ । राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीर वीराङ्गना सहिदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय छ । प्रजातन्त्र कै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षको मार्गदर्शनस्वरुप नेपालको वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । संविधानले अवलम्बन गरेको प्रणालीलाई थप सुदृढ गर्दै सामाजिक न्याय सहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुनु हामी सबैको साझा दायित्व हुन आएको छ ।

अन्तमा, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान व्यक्त गर्दै राष्ट्रिय प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय संकल्प हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७७ फागुन ७ गते शुक्रबार ।