सम्माननीय राष्ट्रपतिज्यू समक्ष बङ्‌गलादेशका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल साउन ३२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत महामहिम Ms. Mashfee Binte Shams ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा बधाई दिनुहुँदै भविष्यमा नेपाल र बङ्‌गलादेश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । यसैगरी उहाँले एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्‍व दिएको कुरा व्यक्त गर्नुभयो । यही वर्ष  बंगलादेशका राष्ट्रपिता बंगबन्धुको सयौं वार्षिकोत्सव भएकोले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई बधाई तथा शुभकामना पनि दिनुभएको छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता