सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्णजन्माष्टमी पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व२०७७ को शुभकामना सन्देश

भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णअष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्‍नताका सूचक  हुन् । यस प्रकारका ऐतिहासिक सांस्कृतिक परम्पराले हाम्रो समाजलाई एकताको सूत्रमा आवद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्‌भाव कायम गर्न मद्दत पुर्‍याउने विश्वास लिएको छु ।

अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले हामी सम्पूर्ण नेपालीमा आपसी प्रेम, करुणा र मैत्री भावना जागृत गरी हामी बीचको भावनात्मक एकता अझ सुदृढ बन्‍न सकोस् भनी सबैमा शुभकामना प्रकट गर्दछु ।

धन्यवाद ।

मिति २०७७ साल साउन २७ गते, मंगलबार ।