सम्माननीय राष्ट्रपतिज्यूले बडा दशैंका अवसरमा दिनुभएको शुभकामना सन्देश

आम नेपालीहरुको महान चाड बडा दशैं २०७४ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्दछु ।

सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकको रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‌भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । विभिन्न जात-जाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।

महान पर्व वडादशैंले हिमाल-पहाड-तराई-मधेश तथा पूर्व मेची देखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्‌भाव एवम् क्षेत्र-क्षेत्र, जातजाति र समुदाय-समुदायबीच आपसी भातृत्व कायम गर्न समेत सफल रहोस् भन्ने कामना गर्दछु ।

अन्त्यमा, आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उल्लासपूर्ण रुपमा सहभागी भइ आफ्नो मताधिकारको प्रयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुलाई शक्तिस्वरुपा दुर्गा भवानीले अग्रसर हुने आशिष दिउन् भन्ने भावनाका साथ वडादशैं, २०७४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

धन्यवाद !

२०७४ असोज १४ गते शनिबार ।