अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भमा सम्माननीय राष्ट्रपति
श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण आदरणीय जेष्ठ नागरिकहरुको सुख, शान्ति एवम् सम्मानजनक जीवन यापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जीवनका अधिकांश समय कृयाशील रही आफ्नो ज्ञान, सीप र अनुभवलाई समाजोपयोगी कार्यमा योगदान पुर्याउनु भएका जेष्ठ नागरिकहरु निश्‍चयनै राष्ट्रका अमूल्य सम्पत्ती हुन। तसर्थ जेष्ठ नागरिकको सीप मुलुक निर्माणमा प्रयोग गर्ने, जेष्ठ नागरिकबाट असल संस्कृती, संस्कार भावि पुस्तामा हस्तान्तरण गराउने, सभ्य समाज निर्माणमा जेष्ठ नागरिकको योगदानलाई स्वीकार गर्ने एवम् नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने वातावरण श्रृजना गर्नु नै जेष्ठ नागरिक दिवसको महत्व रहन्छ । नेपालको संविधानले जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा समाजिक सुरक्षाको हकको व्यवस्था गरेको र सम्मान स्वरुप राज्यको तर्फबाट समाजिक सुरक्षा भत्ता एवं विभिन्‍न सेवा सुविधाहरु समेत प्रदान गरिंदै आएकोमा म सराहना व्यक्त गर्दछु ।

अन्तमा, जेष्ठ नागरिकहरुलाई मर्यादित एवं सम्मानीत गर्दै उहाँहरुको अनुभवको अनुकरण गर्न सबैसँग हार्दिक आव्हान गर्दछु ।

धन्यवाद !

मितिः २०७४ साल असोज 15 गते आइतबार ।