“शहीद दिवस २०७४” का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दिनुभएको सन्देश

नेपाल र नेपाली जनताको लागि शाहदत हासिल गरेका अमर शहीदहरुलाई सम्मान गर्ने शहीद दिवसको उपलक्ष्यमा सबैलाई राष्ट्रनिर्माणको महायज्ञमा स्वतःस्फूर्त रूपले समाहित हुन प्रेरणा प्रदान गर्ने आदरणीय ज्ञात–अज्ञात शहीदहरूको सपना साकार पार्न कृतसंकल्पित बन्‍न अभिप्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

देश र जनताको लागि आफ्नो जीवनको आहुती दिने वीर शहीदहरु प्रति  सम्झना र सम्मान गरी यस वर्ष पनि विविध कार्यक्रम सहित शहीद दिवस मनाइँदै छ । इतिहासका विभिन्‍न कालखण्डमा भएका आन्दोलनमा होमिएर राष्ट्रका लागि वीरगति प्राप्त गरेका शहीदको योगदानको प्रतिफल स्वरुप नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुन सफल भएको हो । अब यस महत्वपूर्ण अवसरको सदूपयोग गरी न्याय र समानतामा आधारित आर्थिक रुपले समृद्ध समतामूलक समाज निर्माण गर्न अग्रसर हुनु पर्दछ ।

मुलुक र मुलुकबासीको लागि आफ्नो अमूल्य जीवन वलिदान गर्ने व्यक्ति नै शहीद बन्‍न योग्य हुने यथार्थलाई हामीले सधै ख्याल गर्नु पर्दछ । वीर, अमर, त्यागी  र भविष्यद्रष्टा शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत र सुदृढ गर्दै समुन्‍नत राष्ट्र निर्माण गर्न सकेमा मात्र शहीदप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुने भएकाले यसतर्फ हामी सबै नेपाली एकताबद्ध भएर मन, वचन र कर्मले लाग्न जरुरी छ ।

राष्ट्र, राष्ट्रियता, स्वतन्त्रता एवं मानवअधिकारको रक्षाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र नेपाली माटोले जन्माएका सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

धन्यवाद ।

२०७४ साल माघ १६ गते मंगलबार ।