मकर संक्रान्ति तथा माघी पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएकाे शुभकामना सन्देश

“मकर संक्रान्ति तथा माघी पर्व, २०७३” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा यस मकर संक्रान्ति पर्व तथा माघी पर्वलाई विभिन्न समुदायले आफ्नो मुख्य पर्वका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । तरुल लगायतका कन्दमूल तथा घिऊ, चाकु, तीलको लड्‌डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुशी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्‌भाव कायम राख्न मद्दत पुर्‍याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्नु हामी सबैको दायित्व हो ।

विविधताले सम्पन्न सिंगो नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको यस महान पर्वले सबै नेपालीमा उत्साह एवम् उमङ्ग थपोस् र सबै नेपालीबीच शान्ति, एकता, सद्‌भाव र सहिष्णुता कायम गर्न सकोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७३ साल माघ १ गते शनिबार ।