प्रेस काउन्सिल नेपालको ४७ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह २०७३ मा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गर्नुभएको सम्बोधन

माननीय सूचना तथा संचारमन्त्री,

प्रेस काउन्सिल नेपालका अध्यक्ष,

संचारकर्मी मित्रहरु,

भद्र महिला तथा सज्जनवृन्द !

प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु । यस महत्वपूर्ण अवसरमा पत्रकारिताक्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा निर्वाह गरेको सकारात्मक भूमिकाको स्मरण गर्दछु ।

समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । यस पक्षलाई आत्मसात गर्दै हाम्रो सञ्चार माध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सम्बद्ध पक्षले सदा प्रेरित गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु । पत्रकारिता पेशाका मूल्य तथा मान्यतालाई आत्मसात गरी लोककल्याणकारी राज्यले अंगिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अंगले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने तथ्यलाई दृष्टिगत गरी यस पेशालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुनुपर्दछ ।

पत्रकारिता निकै फराकिलो विषय हो । सूचना तथा संचार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढि व्यापक र संवेदनशील हुँदै आएको छ । संचार माध्यम विकासक्रमको इतिहासलाई हेर्दा नेपालमा छापामाध्यमको संगठित शुरुवात एकसय पन्ध्र वर्ष पहिले गोरखापत्र साप्ताहिकबाट भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना जनमानसमा पु¥याउन, देशमा व्याप्त अशिक्षा, कुरीति र अन्धविश्वासलाई हटाउन तथा विभिन्न विषयमा लाभदायी सूचना पु¥याउन गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । २००७ सालको ऐतिहासिक परिवर्तनसँगै देशको पहिलो विद्युतीय संचार माध्यमका रुपमा रेडियो नेपालको स्थापना भएको परिप्रेक्ष्यमा हाल छापा, रेडियो, टेलिभिजन, अनलाईनजस्ता संचार माध्यमहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । यसरी संचार माध्यमको व्यापक विकासका साथै यिनीहरुबीच तीब्र प्रतिस्पर्धा पनि बढेको छ । यस्तो अवस्थामा नियमनकारी निकाय÷संस्थाको हैसियतमा काउन्सिलले यसै अनुरुप आफ्नो दक्षता पनि बढाउनु आवश्यक छ ।

विगत तीन दशक अवधिमा विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि छापा माध्यम, टेलिभिजन, एफएम रेडियो र अनलाईन क्षेत्रमा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले विकास भएको छ । २०६२÷६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक घटना यी सबै युगान्तकारी परिवर्तन र विकासमा नेपालको संचार जगतले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको छ । साथै हाम्रो संचार क्षेत्रले लोकतन्त्र, मौलिकहक, मानवअधिकार तथा देशका अल्पसंख्यक, महिला, बालबालिक र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको छ ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अंगको ध्यान देशलाई दू्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्ने देख्दछु । अबका दिनमा देशमा न्याय, लोककल्याण, शान्ति र स्थिरतालाई दीगो रुपमा प्रश्रय दिनुका साथै पत्रकारिताले उत्तरदायीढंगले प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरुमा नेपालको सर्वोच्च हितमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सम्बन्ध र आर्थिक कूटनीतिको उपयोग, प्रकृति संरक्षण र लोपोन्मूख जीवजन्तु तथा वनस्पतिको जगेर्ना, प्राकृतिक प्रकोपबाट बच्ने सावधानी  र उपाय, खाद्य सुरक्षा, जनस्वास्थ्य, शिक्षा, खेलकूद, वन, अर्गानिक कृषि लगायत कृषिमा आधुनिकीकरण, साँस्कृतिक सम्पदा तथा पुरातात्विक संरक्षण, पर्यावरण र जलवायु परिवर्तन, पर्यटन आदि पर्ने देखेको छु ।

प्रेस काउन्सिल नेपाल सीमित स्रोत साधनका बाबजूद नेपाली पत्रकारिता क्षेत्रको स्वस्थ्य विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । आगामी दिनमा सञ्चारमाध्यममा भएको बृद्धिसँगै उत्पन्न हुने समस्याहरूको यथोचित समाधान गर्दै नेपाली पत्रकारिताजगतलाई अझ निष्पक्ष, दीगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ ।

अन्तमा, काउन्सिलको स्थापनादेखि यसको संस्थागत निरन्तर विकासमा प्रत्यक्ष र परोक्ष योगदान पुर्‍याउनु हुने सबैलाई धन्यवाद दिँदै यस महत्वपूर्ण अवसरमा पुरस्कृत हुने महानुभावहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै राष्ट्र र जनताप्रति अझ जिम्मेवार र प्रतिवद्ध भई स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिताको स्वस्थ्य विकास गर्न काउन्सिल सक्षम हुनेछ भन्ने अपेक्षा गर्दछु ।

धन्यवाद !

२०७३ साल असोज ६ गते बिहीबार