ग्याल्पो ल्होसार २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले दिनुभएको शुभकामना सन्देश

शेर्पा जातिको महान पर्व एवं नयाँ वर्ष “ग्याल्पो ल्होसार” को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली शेर्पा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधता रहेको हाम्रो मुलुकमा यस पर्वलाई शेर्पा समुदायले आफ्नो परम्परा अनुसार नयाँ वर्षका रुपमा हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । सबै नेपालीबीच एकताको सन्देश दिदै आपसी मनोरञ्जन र खुशी साटासाट गरी मनाइने यस पर्वले हामीबीच बन्धुत्व र पारस्परिक सद्‌भाव कायम राख्न मद्दत पुर्‍याउने छ । विविधताले भरिपूर्ण सिंगो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति आफैंमा मौलिक, सुसंस्कृत र समृद्ध रहेको छ ।

अन्तमा, यस महान पर्वले सबै नेपालीमा नयाँ उमंग सहित हर्षोल्लास र शान्तिको सन्देश फैलाई सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् तथा हाम्रा सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवं परम्पराहरुको  संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा समेत प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७३ फागुन १६ गते सोमबार ।