२६२२ औँ महावीर जयन्तीको सन्देश
जैन धर्मका प्रवर्तक महावीरको २६२२ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाल लगायत विश्वभर छरिएर रहेका जैन धर्मावलम्बीद्वारा विभिन्न कार्यक्रमहरू आयोजना गरी महावीर जन्मजयन्ती मनाउने गरिन्छ । महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्नुभएको थियो । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ ।
महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि गर्नुभएको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास लिएको छु ।
अन्तमा, समाजमा विद्यमान सबै प्रकारका विकृति, विसङ्गति एवम् विभेदको अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिलोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ चैत २१ गते मंगलबार ।