विश्व पानी दिवस, २०२३ (मार्च २२) को शुभकामना सन्देश
संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस निरन्तर मनाउँदै आइएको छ । पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हामी यस वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइरहेका छौ । पानी भनेको समस्त जीवहरूको प्राण रक्षा गर्ने प्रकृतिले दिएको वरदान हो । प्राणी र पृथ्वीको अस्तित्व पानीसँग गाँसिएको छ ।
बढ्दो शहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको तीतो यथार्थ हाम्रा सामु विद्यमान छ । साथै, शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी छ जसले यस क्षेत्रमा थप चुनौती सृजना गरेको छ । अव्यवस्थित बस्ती र बढ्दो औधोगिकीकरणका कारणले जमिनमुनिको पानी समेत प्रदुषित हुँदै गएको छ । जसका कारणले प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।
त्यसकारण, भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पृथ्वीमा चल्ने विभिन्न चक्रहरूलाई दिगो राख्न, नदिको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र स्वस्थ्य पिउने पानी परिपूर्तिका लागि मद्दत पुर्याउछ ।
त्यसैले, भोलिको समस्यालाई मध्यनजर गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाँउ–गाँउमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी छ । त्यस्तै, शहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी छ । साथै, यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशे पानी संकलन समेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अति आवश्यक भैसकेको छ ।
अन्तमा, पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले हामी सबैमा प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७९ साल चैत्र ८ गते बुधवार ।