सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व पानी दिवस, २०२३ (मार्च २२) का अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व पानी दिवस, २०२३ (मार्च २२) को शुभकामना सन्देश

संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९३ देखि हरेक वर्ष मार्च २२ मा विश्व पानी दिवस निरन्तर मनाउँदै आइएको छ । पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हामी यस वर्ष ‘खानेपानी तथा सरसफाइ संकट समाधानका लागि द्रुततर परिवर्तन’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी पानी दिवस मनाइरहेका छौ । पानी भनेको समस्त जीवहरूको प्राण रक्षा गर्ने प्रकृतिले दिएको वरदान हो । प्राणी र पृथ्वीको अस्तित्व पानीसँग गाँसिएको छ ।

बढ्दो शहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको तीतो यथार्थ हाम्रा सामु विद्यमान छ । साथै, शहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी छ जसले यस क्षेत्रमा थप चुनौती सृजना गरेको छ । अव्यवस्थित बस्ती र बढ्दो औधोगिकीकरणका कारणले जमिनमुनिको पानी समेत प्रदुषित हुँदै गएको छ । जसका कारणले प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।

त्यसकारण, भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा हो, जसले पृथ्वीमा चल्ने विभिन्न चक्रहरूलाई दिगो राख्न, नदिको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न र स्वस्थ्य पिउने पानी परिपूर्तिका लागि मद्दत पुर्‍याउछ ।

त्यसैले, भोलिको समस्यालाई मध्यनजर गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाँउ–गाँउमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी छ । त्यस्तै, शहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी छ । साथै, यत्रतत्र पोखरीहरू निर्माण  गरी आकाशे पानी संकलन समेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अति आवश्यक भैसकेको छ ।

अन्तमा, पानीको संरक्षण र सदुपयोगमार्फत दिगो विकासका लक्ष्य परिपूर्ति गर्न विश्व पानी दिवसले हामी सबैमा प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ साल चैत्र ८ गते बुधवार ।