कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री,
विभिन्न राजनीतिक दलका नेताहरू,
स्थानीय तहका जनप्रतिनिधिहरू,
पेशागत संघसंगठनका प्रतिनिधिहरू
सञ्चारसम्वद्ध संघसंस्थाका प्रतिनिधिहरू
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष,
राष्ट्रसेवकहरू,
सञ्चारकर्मीहरू,
भद्र महिला तथा सज्जन वृन्द ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन समारोहमा उपस्थित भई देशभरिका पत्रकार प्रतिनिधिहरूसँग साक्षात्कार गर्ने अवसर प्राप्त भएकोमा मलाई खुसी लागेको छ । म यस महासंघको साधारणसभाको पूर्ण सफलताको निम्ति हार्दिक शुभकामना व्यक्त गर्दछु ।
देशका विभिन्न भागबाट यहाँ जम्मा हुनुभएका तपाईं सबै पत्रकारहररूले आफूले भोगिरहेका पेशागत कठिनाइहरूमाथि विभिन्न आयाममा घनिभूत छलफल गर्नुहुनेछ र त्यसलाई सम्बोधन गर्ने उपाय पनि पहिल्याउनु हुनेछ भन्ने मेरो विश्वास छ । साथै, देशको विद्यमान अवस्था र पत्रकारिता क्षेत्रले खेल्नुपर्ने भूमिकाको सन्दर्भमा पनि तपाईंहरूको यथोचित ध्यान जानेछ भन्ने आशा लिएको छु ।
पत्रकारको हकहितका लागि करिब सात दशक अघि गठन भएको नेपाल पत्रकार महासंघले पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान दिएको छ । पत्रकारको भौतिक तथा पेशागत सुरक्षाको साथै नागरिक समाजको सशक्त अगुवा संस्थाका रूपमा पनि यसले महत्त्वपूर्ण योगदान रहेको छ । विभिन्न कालखण्डमा अनेक हण्डर ठक्कर खाँदै अघि बढेको पत्रकार महासंघले निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको स्थापनाको निम्ति महत्वपूर्ण योगदान गरेको छ । प्रजातन्त्रमाथि सङ्कट आउँदा यो सँधै लडेको छ । लोकतन्त्र र गणतन्त्रको स्थापनामा पनि यसको ठूलो भूमिका रहेको छ ।
मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ । प्रणालीको हिसाबमा यो उच्चतम प्रणाली हो । संविधानसभाबाट बनेको संविधान छ । अक्षर र भावनाको हिसावमा यो संविधानमा खोट लगाउने कुनै ठाँउ छैन । तर, प्रणालीले राम्रोसँग काम गर्न सकेन भने जतिसुकै राम्रो व्यवस्था वा संविधान भएपनि त्यो आफैमा पूर्ण नहुन सक्दछ । त्यसलाई पूर्ण बनाउन राज्यका निकायहरुले इमान्दार प्रयास गर्नुपर्दछ । प्रेस जगतले सूक्ष्म निगरानी र खबरदारी गरिरहनु पर्दछ । पत्रकार महासंघले सबै पत्रकार र पत्रकारिता जगतलाई स्वच्छ पत्रकारिताको विकास र पत्रकारको हकहितसँगै राज्य र समाजप्रतिको दायित्वतर्फ पनि सँधै प्रेरित गर्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।
नेपालमा पटक पटक विभिन्न संघर्ष भएका छन् । ती संघर्ष मार्फत नेपाली जनताले आफ्नो आकांक्षा प्रकट गरेका छन् । निर्वाचनको माध्यमबाट अभिमत व्यक्त गर्दै आएका छन् । नेपाली जनताको एकमात्र चाहना मुलुकमा तीब्र विकास र समृद्धि हो । राज्यले कुनै पनि जातजाति, समुदाय, शारीरिक अवस्था, भौगोलिक अवस्थिति वा लैङ्गिक वा अन्य कुनै आधारमा कुनै पनि खालको विभेद नगरोस्, सबैलाई समान अवसर देओस् भन्ने उनीहरूको चाहना हो । नेपाली जनताले जीवनस्तरमा सुधार खोजेका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा सहज पहुँच चाहेका छन् । सामाजिक सुरक्षा, सामाजिक न्याय र समतामूलक विकास उनीहरूको मूल लक्ष्य हो । त्यसैले पनि उनीहरूले अनेक माध्यम र स्वरूपमा त्यो असन्तुष्टी प्रकट गरिरहेका छन् । हामी सबैले यो कुरालाई गहन रूपमा महसुस गर्नु पर्दछ । अनि जिम्मेवार निकायले आफ्नो व्यवहार, शासन शैली र सेवा प्रवाहमा सुधार गर्नुपर्दछ । मेरो विचारमा राज्यको चौथो अङ्गको रूपमा लिइने सञ्चार जगतको भूमिका यसमा अझ बढी महत्वपूर्ण हुन्छ ।
सूचना तथा सञ्चार प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा पनि ठूलो परिवर्तन आएको छ । छापा माध्यमका पत्रपत्रिका, रेडियो, टेलिभिजनपछि अहिले अनलाइनको प्रभाव बढ्दै गएको छ । सामाजिक सञ्जालले पत्रकारितालाई छायाँमा पार्न खोजेको छ । डिजिटल मिडियाको प्रभाव अत्यन्तै बढिरहेको छ । प्रविधिले ल्याएको यो परिवर्तनलाई नराम्रो भन्न मिल्दैन । यो अवसर हो । तर, यसले अवसर मात्र ल्याएको छैन, चुनौती पनि थपेको छ ।
पत्रकारिताको स्वतन्त्र अभ्यास लोकतन्त्रको अपरिहार्य शर्त हो । विचार र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्नुपर्दछ । सूचनाको हक लोकतन्त्रको अर्को महत्वपूर्ण पक्ष हो । यसले सार्वजनिक निकायलाई पारदर्शी बनाउँछ । नागरिकलाई सुसूचित गराउँछ । यसको अभ्यासलाई अझ प्रभावकारी बनाउनुपर्दछ । सूचनाको हक र प्रेस स्वतन्त्रतालाई हाम्रो संविधानले पनि प्रत्याभूत गरेको छ । यसमाथि कहीँ कतैबाट पनि अङ्कुश लगाउने वा सङ्कुचित गर्ने प्रयास गरिनु हुँदैन । राज्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्दछ । व्यवहारमा त्यसको अभ्यास हुने वातावरण बनाइदिनु पर्दछ ।
पत्रकार महासंघको यस महत्वपूर्ण सभामा तपाईंहरूसँग मेरो एउटा अनुरोध छ, पत्रकारिताको मर्यादा र विश्वसनीयतामाथि तपाईंहरूले अलि गम्भीर चिन्तन गरिदिनुस् । सूचना प्रवाह गर्दा सत्य तथ्य हो कि होइन ? यसले समाजलाई हित गर्छ कि गर्दैन ? व्यक्तिको आत्मसम्मानमा ठेस पुर्याउने वा व्यक्तिगत चरित्रहत्या हुने काम भएको छ कि छैन ? पत्रकार आचारसंहिताको पालना भएको छ कि छैन ? व्यक्तिको गोपनीयताको हकको सम्मान भएको छ कि छैन ? यसले बहुलता र सामाजिक विविधतालाई आत्मसात गरेको छ कि छैन ? आवाजविहीनको आवाज बनेको छ कि छैन ? सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सुरक्षा जस्ता विषयप्रति संवेदनशील छ कि छैन ? यसले लोकतन्त्रलाई बलियो बनाउन कत्तिको योगदान गरेको छ ? यसले समाजमा विकृति विसंगति हटाउन योगदान गरिरहेको छ कि विकृति अरु बढाइरहेको छ ? समग्रमा भन्दा पत्रकारिताको स्वतन्त्र र व्यावसायिक अभ्यास भैरहेको छ कि छैन ?
तपाईंहरू यो क्षेत्रको भुक्तभोगी हुनुहुन्छ । तपाईंहरूलाई समस्या थाह छ, समाधानको उपाय पनि थाहा छ । म यसमा अरु धेरै चर्चा गर्न चाहन्न । अहिलेको पत्रकारितालाई लिएर तपाईंहरू पनि पक्कै पनि चिन्तित हुनुहुन्छ र यसलाई स्वच्छ, मर्यादित र विश्वसनीय कसरी बनाउने भन्ने उपायको खोजीमा हुनुहुन्छ भन्ने मेरो विश्वास रहेको छ ।
नेपालको पत्रकारिता र पत्रकार जगतले थुप्रै समस्याहरू भोगिरहेको छ । कतिपय विषयहरू यहाँ पनि उठिसकेका छन् । चाहे कानुन निर्माणका सन्दर्भ हुन् वा पत्रकारको रोजीरोटीका विषय, पत्रकारको सुरक्षाको कुरा होस् वा व्यावसायिक विकासका कुरा हुन्, तिनको यथोचित समाधानका लागि सम्बन्धित क्षेत्रले गम्भीर ध्यान देओस् भनेर म पनि ध्यानकर्षण गराउन चाहन्छु ।
पत्रकार महासंघको केन्द्रीय साधारण सभामा यस अघि पनि म सहभागी भएको थिएँ, यसपटक पनि सहभागी हुने अवसर मिल्यो । यसका लागि म पत्रकार महासंघका अध्यक्ष, पूर्वअध्यक्षहरू सहित तपाईंहरू सबैलाई धन्यवाद दिन चाहन्छु । नेपाल पत्रकार महासंघको साधारण सभाको पूर्ण सफलताको निम्ति फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।
धन्यवाद ।
वीरेन्द्रनगर, सुर्खेत ।
२०७९ पौष ८ गते, शुक्रबार ।