सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९ को शुभकामना सन्देश

दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०७९  को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका  सम्पूर्ण जेष्ठ नागरिकहरूमा सुस्वास्थ्य, दीर्घायु एवम् मर्यादित जीवनयापनको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै गत वर्षदेखि नेपाल सरकारको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो । यस वर्ष पनि ‘हामी सबैको सरोकार: ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी हामी यो दिवस मनाउन गइरहेका छौँ ।

अथाह ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिकहरू हाम्रा लागि ज्ञान र प्रेरणाका पुञ्ज हुन् । ज्येष्ठ नागरिकहरूले जीवनभरको संघर्ष र भोगाइहरूबाट आर्जन गरेका ज्ञान, सिप र अनुभवबाट आजको युवा पुस्ताले जीवनोपयोगी सिकाइ ग्रहण गर्न सक्दछ । तसर्थ‚ ज्येष्ठ नागरिकहरूमा अन्तर्निहित ज्ञान र अनुभवलाई पुस्तान्तरण गर्न आवश्यक वातावरण सिर्जना गर्न परिवार‚ समाज र राज्यको सामूहिक प्रयास आवश्यक पर्दछ ।

ज्येष्ठ नागरिकहरूको मर्यादित जीवन एवं सहज जीवनयापनका लागि  परिवारका सदस्य, समाज, संघसंस्था एवं तीनै तहका सरकारले समन्वयात्मक रूपमा सहकार्य गर्नु पर्दछ । नेपाल सरकारले ज्येष्ठ नागरिकहरूका लागि स्वास्थ्य सेवा, यातायात सेवा लगायत सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा व्यवस्था गरेको छुट सहुलियत र सेवा सुविधाको थप विस्तार गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्न सम्बद्ध सबैमा आव्हान गर्दछु ।

अन्तमा, ‘मातृदेवो भव:, पितृ देवो भव:’ को मान्यताबाट निर्देशित पूर्वीय संस्कृतिमा आधारित आदर्श परिवारको महत्त्वलाई आत्मसात गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षा सहित ज्येष्ठ नागरिकको जीवनलाई सहज र सम्मानित बनाउनका लागि आ–आफ्नो क्षेत्रबाट योगदान गर्न सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

२०७९ पुस ११ गते सोमबार ।