सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवन समुद्‍घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन

कार्यक्रमका सभापति,

सिटीइभिटीका उपाध्यक्ष,

शिक्षालयका प्राचार्य, शिक्षक एवं विद्यार्थीहरू,

स्थानीय तहका जनप्रतिनिधिहरू,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्रमहिला तथा सज्जनवृन्द !

भोजपुर जिल्लाको यस दुर्गम गाउँ आमबोटेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद  (सिटिइभीटी)द्वारा आयोजित श्री राम मिथिला प्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्‍घाटन कार्यक्रममा सहभागी भई मेरो जन्मघर‚ गाउँ र जिल्लाबासी दाजुभाई दिदीबहिनीहरूसँग भेटघाट गर्ने सुअवसर पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ ।

म यहीको खेतबारी, उकाली–ओराली, खोलानाला र वनजङ्गलहरूमा खाइखेली गर्दै हुर्केबढेकी तपाईँहरूकै छोरी–चेली हुँ । आफू जन्मेहुर्केको यस गाउँमा प्राविधिक शिक्षालय स्थापना गरी त्यसको नवनिर्मित भवनको उद्‍घाटन गर्ने व्यवस्था मिलाएकोमा म प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस प्राविधिक शिक्षालयबाट उत्पादित दक्ष जनशक्तिबाट मुलुकलाई आत्मनिर्भर र स्वावलम्बी तुल्याउने अभियानमा महत्वपूर्ण योगदान पुग्ने मैले विश्‍वास लिएको छु । प्राविधिक शिक्षालयको स्थापनाबाट यस क्षेत्रका युवाहरूलाई आफ्नै गाउँ–ठाउँमा रहेर प्राविधिक शिक्षा प्राप्त गरी समाज र राष्ट्रको उन्नति प्रगतिका लागि योगदान गर्ने अवसर प्राप्त हुने छ भने रोजगारीको खोजीमा विदेश नै जानुपर्ने परिस्थितिको अन्त्य गर्न समेत मद्दत पुग्ने मैले अपेक्षा लिएको छु ।

नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा भोजपुर जिल्लाको भूमिका अग्रणी रहेकोछ । यसैगरी  मुलुकको सामाजिक, सांस्कृतिक र शैक्षिक जागरणको क्षेत्रमा समेत भोजपुर जिल्लाको विशिष्ट योगदान रहेको छ । तथापि, विकासका पूर्वाधारको हिसाबले यो जिल्ला अझै पनि अपेक्षाकृत रूपमा पछि परिरहनु दु:खद् रहेको छ । तसर्थ यस जिल्लाको समग्र विकासका लागि सरकार, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्रका साथै आम नागरिकले समेत समन्वयात्मक रूपमा  सामुहिक पहल गरिनु पर्दछ ।

यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग एवं परम्परागत जीविकोपार्जन कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै कृषि र वन आधारित उद्योगको विकास मार्फत स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।

लोप हुने अवस्थामा रहेका स्थानीय कच्चा पदार्थ‚ श्रम र सीपमा आधारित भोजपुर जिल्लाका परम्परागत धातु उद्योग‚ कोगटी‚ खाँडी‚ खुकुरी र बेतबाँस लगायतका हस्तकला उद्योगलाई संरक्षण एवं सम्वर्द्धन गर्नु पर्दछ । यसैगरी, सुन्तला, कागती लगायतका फलफूलका साथै चिया, कफी, अलैँची, अदुवा, बेसार, बदाम लगायतका नगदेबालीको व्यवसायिक उत्पादन गर्न सके जनताको जीवनस्तर सुधार गर्न सकिन्छ ।

यसबाट एकातिर आयातित सामग्रीमाथिको हाम्रो निर्भरतालाई न्यूनीकरण गर्न मद्दत पुग्दछ भने अर्कातिर यसबाट स्वदेशमै रोजगारीको समेत सृजना गर्न सकिन्छ । हाल नेपालले व्यहोर्नु परिरहेको चुलिँदो व्यापार घाटालाई सन्तुलनमा ल्याउन पनि स्वदेशी उत्पादन र उपभोगमा वृद्धि गर्दै आयात प्रतिस्थापन गरिनु अत्यावश्यक छ ।

यसैगरी, हतुवागढी‚ थामडाँडा‚ गोल्मेभीर‚ नागछाँगा‚ पामाखाम‚ बेहरेश्वर महादेव‚ टेम्के‚ सेल्मे‚ मैयुङ‚ साल्पा पोखरी‚ दिङ्ला‚ मझुवा बेंसी र टक्सार बजार जस्ता ऐतिहासिक‚ प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रित हुन पर्दछ । यस सन्दर्भमा, भोजपुरका प्रमुख पर्यटकीय गन्तव्यहरूलाई समावेश गरी ‘मुन्दुम पदमार्ग’को अवधारणासहित जनस्तरबाट पर्यटन प्रवर्द्धनात्मक अभियान सञ्चालन हुनु प्रशंसनीय छ । यस अभियानमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरूको समेत समन्वयात्मक सहकार्य हुनु पर्दछ ।

भोजपुर र संखुवासभा जिल्लाको सीमा नदीको रूपमा रहेको अरुण नदीलाई आधार बनाएर गरिने विकास निर्माणको लाभ भोजपुरबासीहरूले समेत प्राप्त गरिनु पर्दछ भन्ने आम भोजपुरबासीको माग रहेको सन्दर्भलाई समेत सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ भन्ने मलाई लाग्दछ ।

प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको पहुँच विस्तार गरी देशको लागि आवश्यक पर्ने सीपयुक्त जनशक्ति विकास गर्ने कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारहरूले प्राथमिकता साथ सहकार्य गर्नुपर्ने मैले ठानेको छु । तोकिएको गुणस्तर सुनिश्चित हुने गरी यस शिक्षालयले मागमा आधारित छोटो अवधिका सीपमूलक व्यवसायिक तालिमहरू समेत सञ्चालन गर्न सके गाउँगाउँमै सीपयुक्त जनशक्ति उत्पादन गर्न ठूलो मद्दत पुग्नेछ भन्ने मलाई लाग्दछ ।

अन्तमा, यस श्री राम मिथिला प्राविधिक शिक्षालयको स्थापना, सञ्चालन र व्यवस्थापनमा संलग्न सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु र शिक्षालयको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल  मङ्सिर २८ गते बुधबार ।

आमबोटे‚ भोजपुर ।