सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा गर्नुभएको सम्बोधन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारीहरू‚

विद्यालयका प्रधानाध्यापक‚ शिक्षक एवं विद्यार्थी भाईबहिनीहरू‚

काठमाडौँ महानगरपालिकाका प्रमुख लगायत जनप्रतिनिधिहरू‚

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्र महिला तथा सज्जनवृन्द ।

आजभन्दा करिब ६ दशकअघि स्थापना भई यस भेगका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको सन्दर्भमा आयोजित यस कार्यक्रममा उपस्थित भएर तपाईँहरूसँग सात्क्षाकार गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी लगायत समस्त विद्यालय परिवारलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु ।

मुलुकको सर्वाङ्गीण विकासका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । शिक्षाले हरेक नागरिकको व्यक्तित्व विकासमा योगदान गर्दै असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति तयार गर्न मद्दत गर्दछ ।

यस विद्यालयले राष्ट्रलाई आवश्यक पर्ने शैक्षिक जनशक्ति उत्पादनमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दछु । साथै‚ आगामी दिनमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने कार्यमा थप सफलता मिल्ने विश्‍वास व्यक्त गर्दछु ।

राष्ट्रको समृद्धि र विकासका निम्ति आवश्यक स्रोत र साधनहरूको पहिचान गरी तिनको दिगो उपयोग गर्न आवश्यक व्यवस्थापकीय क्षमताको विकास गर्नु नै हाम्रो शिक्षाको मूलभूत उद्देश्य हुनु पर्दछ । तसर्थ‚ हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशिलता प्रवर्द्धन गर्नका लागि आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ हाम्रा शैक्षिक गतिविधिहरू उन्मुख हुनु पर्दछ भन्ने मलाई लाग्दछ ।

विद्यालय तहको शिक्षालाई गुणस्तरीय बनाउन बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयहरूको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति संघीय तथा प्रदेश सरकार र स्थानीय तहले यथेष्ट ध्यान दिन आवश्यक छ । साथै‚ गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गरी हाम्रो जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नु पर्दछ ।

सार्वजनिक शिक्षाको क्षेत्रमा राज्यद्वारा भइरहेको लगानीको अनुपातमा प्रतिफल हासिल गर्न सामुदायिक विद्यालयले गुणस्तरीय‚ जीवनोपयोगी र व्यवहारिक शिक्षा प्रदान गर्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गर्नतर्फ यो विद्यालय अग्रसर रहनु पर्दछ । सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन अभिभावक, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति, शिक्षक र विद्यार्थी सबैको सामुहिक प्रयास आवश्यक पर्दछ । विद्यालय व्यवस्थापन समिति, अभिभावक र प्रधानाध्यापकको  समन्वयात्मक र सक्रिय सहभागिता हुन सकेमा मात्र पनि सामुदायिक विद्यालयमा प्रदान गरिने शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । यस सन्दर्भमा‚ यस बाँसबारी माध्यमिक विद्यालयलाई काठमाडौँ महानगरपालिकाले नमूना विद्यालयको रूपमा छनौट गरेको जानकारी पाउँदा मलाई खुसी लागेको छ ।

प्राचीन कालदेखि नै नेपालको एउटा परिचय ज्ञानभूमि र शान्तिभूमिका रूपमा स्थापित छ । हाम्रा वीर पुर्खाको ठूलो त्याग र बलिदानबाट मुलुकको एकता, सार्वभौमसत्ता र राष्ट्रियताको जगेर्ना हुँदै आएको इतिहासका ’boutमा हामी सबै परिचित छौँ । हामीले आफ्नो त्यही महान् र गौरवपूर्ण इतिहासबाट शिक्षा लिँदै मुलुकको विकास र प्रगतिको यात्रालाई अगाडि बढाउनु पर्दछ ।

हाम्रा विद्यालयहरूले प्रदान गर्ने शिक्षा र सामाजिक चेतनामा राष्ट्र र राष्ट्रियता प्रतिको उच्चतम दायित्व बहन हुने छ भन्ने मैले अपेक्षा लिएको छु । राष्ट्रप्रेम र मुलुकप्रतिको अविचल निष्ठालाई जीवनको लक्ष्य बनाउने नागरिक तयार गर्न विद्यालय शिक्षाको अग्रणी भूमिका रहने विषयलाई म पुन: जोड दिन चाहन्छु ।

यस विद्यालयलाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याइपुर्‍याउन आ–आफ्नो क्षेत्रबाट योगदान गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू‚ प्रधानाध्यापक‚ शिक्षक वर्ग‚ अभिभावक तथा विद्यार्थीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु । साथै, विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि सहयोग गर्ने विभिन्न संघ–संस्था एवं निकायहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।

अन्तमा‚ आज सम्मानित हुनुभएका विद्यालयका संस्थापक‚ अक्षयकोष दाता‚ पूर्व अध्यक्ष‚ पूर्व प्रधानाध्यापक‚ पूर्व निर्माण कमिटीका संयोजकहरूका साथै दीर्घ सेवा प्रमाण–पत्र प्राप्त गर्ने शिक्षक‚ कर्मचारी लगायत सबैमा हार्दिक बधाई दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ मङ्सिर २७ गते मंगलबार ।

बाँसबारी‚ काठमाडौँ ।