माननीय माननीय प्रदेश प्रमुख‚
माननीय वन तथा वातावरण मन्त्री‚
माननीय मुख्यमन्त्री‚
माननीय प्रतिनिधि सभाका सदस्य‚
प्रदेश सभाका सदस्यहरू‚
स्थानीय तहका सम्पूर्ण जनप्रतिनिधिहरू‚
राष्ट्रसेवकहरू‚
सञ्चारकर्मीहरू‚
भद्र महिला तथा सज्जनवृन्द ।
आठौँ चुरे दिवसको अवसरमा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति तथा नेपाली सेनाको श्री १ नं. वन तथा पर्यावरण सुरक्षा गणद्वारा संयुक्त रूपमा आयोजित ‘एक दिनमा दुई लाख विरुवा वृक्षारोपण’ गर्ने विशेष अभियानको शुभारम्भ गर्न पाएकोमा मलाई अत्यन्त खुसी लागेको छ । निमन्त्रणाका लागि म राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिलाई धन्यवाद दिन चाहन्छु । साथै, यस अवसरमा आठौँ चुरे दिवसको शुभकामना पनि व्यक्त गर्दछु ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम नेपाल सरकारको प्रकृति संरक्षण र सम्वर्द्धन गर्ने पवित्र उद्देश्य लिएको एकमात्र राष्ट्रिय गौरवको आयोजना हो । चुरे क्षेत्र भौगोलिक हिसाबले कमलो र कान्छो भएतापनि जैविक र सांस्कृतिक सम्पदामा धेरै धनी छ । चुरे क्षेत्र बाघ‚ भालु‚ गैँडा‚ हात्ती‚ अर्ना र अन्य वन्यजन्तुहरूको बासस्थान रहनुका साथै विविध किसिमका जडिबुटीजन्य वनस्पतिको खानी पनि हो ।
तराई र मधेश क्षेत्रमा सिंचाईको लागि आवश्यक पर्ने पानीको प्रमुख स्रोत भनेको चुरे र मध्य–पहाडी श्रृङ्खलाबाट बग्ने नदी प्रणाली र यिनले पुनर्भरण गरेका भूमिगत जलस्रोत हुन् ।
भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । चुरे क्षेत्रमा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई भावी पुस्ताको बाँच्न पाउने अधिकार समेतलाई ख्याल गरेर यस क्षेत्रको व्यवस्थित भौतिक विकास गर्न र वातावरणीय अध्ययन गरेर मात्र ढुङ्गा, गिट्टी र वालुवा जस्ता प्राकृतिक स्रोतको संकलन तथा उत्खनन गर्न म आव्हान पनि गर्दछु ।
तराई र मधेशका जनतालाई प्राकृतिक विपदबाट बचाउने हो भने चुरे क्षेत्रमा रहेका वन, वनस्पति, वन्यजन्तु र पारिस्थितिकीय प्रणालीलाई उनीहरूको प्राकृतिक प्रक्रियाअनुसार स्वच्छ र स्वतन्त्र रूपमा बाँच्न दिनुपर्ने हुन्छ । ‘प्रकृति स्वच्छ भए मात्र हाम्रो जीवन सुरक्षित हुन्छ र प्रकृतिलाई हामीले संरक्षण गर्यौं भने मात्र प्रकृतिले हामीलाई संरक्षण गर्दछ’ भन्ने तथ्यलाई हामी कसैले पनि बिर्सनु हुदैन ।
चुरे क्षेत्रमा जनसङ्ख्या वृद्धि, बसाइँसराई र भौतिक पूर्वाधार विकासका कारण शहरीकरण दिन प्रतिदिन बढ्दो छ । बढ्दो भौतिक विकासले चुरे क्षेत्रको पारिस्थितिकीय प्रणालीलाई पारेको असरलाई कसरी कम गर्न सकिन्छ र हिजो नष्ट भएका पारिस्थितिकीय प्रणालीलाई आज कसरी पुनर्स्थापना गर्न सकिन्छ भनेर सबैले गम्भीर भएर सोंच्नु पर्ने बेला आएको छ ।
यस प्रकारको वृहत्तर वृक्षारोपण कार्यक्रमबाट वन क्षेत्रको क्षेत्रफल वृद्धि, जैविक विविधताको संरक्षण, कार्वन सञ्चिति, भू-संरक्षण एवं पानीको स्रोतको वृद्धि गर्न तथा स्थानीय समुदायको जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न मद्दत पुग्ने मैले आशा गरेको छु ।
यस पवित्र कार्यमा होस्टेमा हैंसे गर्नका लागि संघीय सरकार‚ प्रदेश सरकार‚ स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, नागरिक समाज, निजी क्षेत्र एवं गैरसरकारी संघसंस्था सबैमा म हार्दिक अपिल पनि गर्दछु ।
हामीले वृक्षारोपण मात्र गरेर हुँदैन, रोपेका विरुवाको स्याहार–सम्भार र संरक्षण गर्ने कार्य पनि उत्तिकै महत्त्वपूर्ण छ । जबसम्म हामीले रोपेका विरुवाहरू हुर्केर यिनबाट उत्पादन भएको वस्तु वा सेवाहरूबाट स्थानीय समुदायले लाभ प्राप्त गर्दैनन्, तबसम्म यिनको निरन्तर संरक्षण गर्नुपर्ने हुन्छ । यसतर्फ विशेष सजग रहन म यस कार्यक्रमका आयोजक‚ खासगरी राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति, नेपाली सेना‚ दुधौली नगरपालिका, विशाल सामुदायिक वन उपभोक्ता समूह सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।
वृक्षारोपण गर्दा यहाँको हावापानी सुहाउँदो चिउरी‚ लिची‚ कटहर‚ बाँस लगायत अन्य बहुउपयोगी बोटविरुवा फराकिलो क्षेत्रफलमा वृक्षारोपण गर्नु पर्दछ । यसो गर्दा वृक्षारोपण क्षेत्रबाट दीर्घकालमा व्यवसायिक उत्पादन लिन तथा उद्योगधन्दालाई आवश्यक पर्ने कच्चा पदार्थको आपूर्तिमा समेत मद्दत पुग्दछ । साथै‚ यसबाट जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने काममा समेत योगदान पुग्ने देखिन्छ ।
कमलामाई नदी प्रणालीमा १२ वटा उप-नदी प्रणालीको सञ्जाल रहेको छ । यदि कमलामाई नदी प्रणालीलाई शिरदेखि तीरसम्म एकीकृत जलाधार व्यवस्थापनको अवधारणाअनुसार व्यवस्थापन गर्न सकियो भने यस क्षेत्रलाई भविष्यमा पर्यापर्यटन, कृषि‚ वन र हरित अर्थतन्त्रको केन्द्र विन्दुको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना मैले देखेको छु ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले आफ्नो ५ वर्षको कार्याअनुभवको समीक्षा गर्दै विगतका सिकाइको आधारमा गुरुयोजना संशोधन गर्न लागेकोछ । कमलामाई नदी प्रणालीलाई आगामी ५ वर्षभित्र एउटा नमूना नदी प्रणालीको रूपमा व्यवस्थापन गर्ने गरी गुरुयोजनामा समेट्न राष्ट्रपति चुरे-तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा पर्यावरण महानिर्देशनालयको म ध्यानआकर्षण गर्न चाहन्छु ।
अन्त्यमा, आगामी दिनमा प्रकृति संरक्षण र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गर्नका लागि सबैको साथ र सहयोग प्राप्त हुने नै छ भन्ने मैले पूर्ण विश्वास गरेको छु ।
धन्यवाद ।
२०७९ साल आषाढ २ गते बिहीबार
दुधौली नपा–३‚ सिन्धुली