ग्याल्पो ल्होसार, २०७८ को शुभकामना सन्देश
शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाई गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।
हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ‚ त्यसैगरी सामाजिक र सांस्कृतिक विविधताले समेत सुसज्जित छ । विविधता बीचको एकता नै नेपालको विशिष्ट पहिचान हो, जसले हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो । यस्ता पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
अन्तमा, ग्याल्पो ल्होसार पर्वले सबै नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण‚ सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७८ फागुन १९ गते बिहीबार ।