सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्याल्पो ल्होसार, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

ग्याल्पो ल्होसार, २०७८ को शुभकामना सन्देश

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय लगायत महायान बौद्ध परम्परामा चन्द्रमास गणना गरी फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्ष सुरु हुने विश्‍वाससहित  ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाई गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।

हाम्रो देश नेपाल जसरी भौगोलिक र प्राकृतिक रूपमा विविधतायुक्त रहेको छ‚ त्यसैगरी सामाजिक  र सांस्कृतिक विविधताले समेत सुसज्जित छ । विविधता बीचको एकता नै नेपालको विशिष्ट पहिचान हो, जसले हाम्रो राष्ट्रिय सामर्थ्यलाई अझ बलियो बनाउन  मद्दत गरिरहेको छ । हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार नेपाली राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो । यस्ता पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्‌भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन गई  हाम्रो बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु ।

अन्तमा, ग्याल्पो ल्होसार पर्वले सबै नेपालीहरूमा नयाँ उत्साह र उमङ्ग छर्दै न्यायपूर्ण‚ सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ फागुन १९  गते बिहीबार ।