तमु ल्होसार पर्व, २०७८ को शुभकामना सन्देश
गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
तमु ल्होसारले गुरुङ समुदायको नयाँ संवत् सुरू भएको संकेत गर्दछ । यस समुदायले आज पुरानो वर्षलाई विदाई र नयाँ वर्षलाई स्वागत गर्दै यो पर्व मनाउने प्रचलन रहेको छ । गुरुङ समुदायको बाहुल्यता रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की र पर्वत लगायतका जिल्लाहरूमा यो पर्व अपार उमङ्गका साथ मनाउने गरिन्छ । मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवर्द्धन गर्दै पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न समेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ ।
नेपाली समाज बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिएको इन्द्रेणी जस्तै सुन्दर र सौम्य छ । तमु ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु ।
अन्तमा‚ गुरुङ समुदायको यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।
धन्यवाद ।
२०७८ पुस १५ गते बिहीबार ।