विश्व हात धुने दिवसको शुभकामना सन्देश
आज विश्व हात धुने दिवस‚ १५ अक्टोवरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आफ्ना हातहरू सफा राख्नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्त्वपूर्ण कार्य हो । हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्वभर कैयौं मानिसहरूले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचिमिची साबुन पानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखाला लगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ । हाल विश्वव्यापी महामारीको रूपमा देखा परेको कोरोनाभाइरस समेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपाय मध्ये हातको सरसफाई एक हो ।
सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा हामीले विश्व हात धुने दिवस मनाउँदै आइरहेका छौं । यस वर्षको विश्व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ‚ हामी सबै एक साथ अगाडि बढौं’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना र जागरण फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।
वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोनाभाइरसको सङ्क्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड-१९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउनका लागि हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सरकार‚ निजीक्षेत्र र विभिन्न संघ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनु पर्दछ ।
अन्तमा, हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु ।
धन्यवाद ।
२०७८ साल असोज २९ गते शुक्रबार ।