सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्‍व हात धुने दिवसको अवसरमा दिनु भएको शुभकामना सन्देश

विश्‍व हात धुने दिवसको शुभकामना सन्देश

आज विश्‍व हात धुने दिवस‚ १५ अक्टोवरका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाहरूमा स्वच्छ र स्वस्थ जीवनका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आफ्ना हातहरू सफा राख्‍नु स्वास्थ्यको हिसाबले अत्यन्तै महत्त्वपूर्ण कार्य हो । हात सफा नभएका कारणले नै अनेक सङ्क्रमणहरू भई विश्‍वभर कैयौं मानिसहरूले मृत्युवरण गर्नु परेको तथ्याङ्क पाइन्छ । राम्ररी मिचिमिची साबुन पानीले हात धुने र सफा पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भई झाडापखाला लगायत अन्य फोहरजन्य रोगव्याधिबाट बच्न सकिन्छ । हाल विश्‍वव्यापी महामारीको रूपमा देखा परेको कोरोनाभाइरस समेतको सङ्क्रमणबाट बच्ने प्राथमिक उपाय मध्ये हातको सरसफाई एक हो ।

सन् २००८ अक्टोबर १५ तारिखदेखि नेपालमा  हामीले विश्‍व हात धुने दिवस मनाउँदै आइरहेका छौं । यस वर्षको विश्‍व हात धुने दिवसको मूल विषय ‘हाम्रो भविष्य हाम्रै हातमा छ‚  हामी सबै एक साथ अगाडि बढौं’ भन्ने रहेको छ । आम जनमानसमा व्यक्तिगत सरसफाई तथा स्वच्छतासम्बन्धी चेतना र जागरण फैलाउन हरेक वर्ष यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ ।

वर्तमान अवस्थामा हातको माध्यमबाट कोरोनाभाइरसको सङ्क्रमण मुख र नाकसम्म जान नपाओस् भनेर बारम्बार हात धुनुपर्ने हुन्छ । कोभिड-१९ को सङ्क्रमणबाट आफू बच्न र अरूलाई पनि बचाउनका लागि हातको स्वच्छतासम्बन्धी सचेतनामूलक कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन सरकार‚ निजीक्षेत्र र विभिन्न संघ–संस्थासँगको समन्वयात्मक कार्यलाई निरन्तरता दिनु पर्दछ ।

अन्तमा, हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछु  ।

धन्यवाद ।

२०७८ साल असोज २९ गते शुक्रबार ।