प्रेस विज्ञप्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हालैको अविरल वर्षाका कारण  मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको जनधनको ठूलो क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका  संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ ।

प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आव्हान गर्नुभएको छ । साथै, सम्माननीय राष्ट्रपतिज्यूले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनु पर्ने कुरा बताउनु भएको छ ।

२०७८ साल कात्तिक ४ गते बिहीबार

(सागर आचार्य)

प्रवक्ता