माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री,
प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पदाधिकारीहरू,
आज सम्मानित पुरस्कृत पत्रकारहरू,
राष्ट्रसेवकहरू,
भद्रमहिला तथा सज्जनवृन्द !
प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिकोत्सवका अवसरमा आयोजित यस समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै काउन्सिल परिवारप्रति हार्दिक शुभकामना प्रकट गर्दछु । यस अवसरमा, प्रेस काउन्सिलको स्थापना कालदेखि वर्तमान अवस्थासम्मका अनेक चरणहरूमा महत्वपूर्ण योगदान गर्ने सम्बद्ध सबैको सराहना गर्दछु । आज पुरस्कृत र सम्मानित पत्रकारहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
लोकतन्त्र र आमसञ्चार क्षेत्रलाई एक अर्काको परिपूरकको रूपमा लिनु पर्दछ । राज्यको चौथो अङ्गको रूपमा स्वीकार गरिँदै आएको आमसञ्चार क्षेत्र लोकतन्त्र र मानव अधिकार प्रवद्र्धनका लागि अभिन्न अङ्गको रूपमा रहेको छ । लोकतन्त्रको सफलताका लागि अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हक अपरिहार्य छ । त्यसैगरी जिम्मेवार पत्रकारिता, सुसूचित आमजनता र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । आचारसंहिताको पालनाबाट जिम्मेवार पत्रकारिताको विकास गर्न र प्रेस स्वतन्त्रताको संरक्षण गर्न सहयोग नै पुग्दछ । यसका लागि प्रेस काउन्सिलले निरन्तर रूपमा भूमिका खेलिरहेकै छ भन्ने मलाई लागेको छ । आगामी दिनमा काउन्सिलले आफूलाई अझै व्यवस्थित रूपमा अघि बढाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।
नेपालमा पत्रकारितालाई प्राज्ञिक विषयका रूपमा विकास गरी विश्वविद्यालयहरूले अध्ययन अध्यापन गराउन थालेको करिब पाँच दशक पुग्न लागेको छ । व्यावसायिक पत्रकारिताको विकासका लागि धेरै संघसंस्थाहरू क्रियाशील छन् । विश्वविद्यालय, सम्बन्धित सरकारी निकाय एवम् विभिन्न अनुसन्धान संस्थाहरूसँग समन्वय गरी प्राज्ञिक संस्थाबाट उत्पादित जनशक्तिको सहायता लिँदै व्यावसायिक पत्रकारिताको विकासमा प्रेस काउन्सिलले अग्रसरता लिन सक्दछ ।
नयाँ प्रविधिको विकाससँगै सूचना र सञ्चारका क्षेत्रमा झुठो समाचार र भ्रमपूर्ण सूचनाको प्रवाह हुनु विश्वव्यापी चुनौती बनेको छ । यसको सामना गर्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार बनाई जनताको सुसूचित हुन पाउने अधिकारको संरक्षणका लागि प्रेस काउन्सिल नेपालले मिडिया अनुगमन, अनुसन्धानका साथै गैरपेशागत आचरण देखाउने सञ्चारमाध्यम र पत्रकारको पहिचान गरी कानुनी उपचारका लागि गरेको पहल सराहनीय छ ।
नेपालको राजनीतिक परिवर्तनका लागि सञ्चार माध्यमले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । प्रजातन्त्रको पुनस्र्थापना र गणतन्त्र प्राप्तिका लागि भएका संघर्षमा पत्रकारहरूले ज्यानको आहुति समेत दिनुपरेको थियो । तसर्थ, मुलुकमा आएको परिवर्तनलाई संस्थागत गर्नका लागि पत्रकारहरूको सक्रियता रहनुपर्दछ ।
नेपालको पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न काउन्सिल अझै मजबुत हुनुपर्छ । काउन्सिल प्रतिको आशा भरोसा बढाउने जिम्मा काउन्सिल स्वयमको हो भन्नेतर्फ सम्बद्ध सबैको ध्यान जानु आवश्यक छ ।
पछिल्लो समय काउन्सिलले प्रेस संग्रहालय स्थापना गर्न लागेको जानकारी पाउँदा मलाई खुशी लागेको छ । यसबाट नेपालमा आम सञ्चारको विकास प्रक्रियाका बारेमा अभिलेखीकरण भई हाम्रो भावी पुस्ता र विश्वभरिका जिज्ञासुलाई इतिहास हस्तान्तरणमा सहयोग पुग्दछ । यस कार्यलाई छिटो पूर्णता दिनका लागि बर्तमान नेतृत्वले सफलता प्राप्त गरोस् भनी शुभेच्छा प्रकट गर्दछु ।
प्रेस काउन्सिल विश्वव्यापी मान्यता प्राप्त निकाय भएकाले यसले नेपालको सञ्चार क्षेत्रलाई अव्बल रूपमा उभ्याउन सक्नुपर्दछ । साथै, काउन्सिललाई स्वतन्त्र, स्वायत्त र प्रभावकारी बनाउन सबै निकायबाट सहयोग हुनुपर्दछ ।
बितेका करिब दुई वर्ष सञ्चारमाध्यम र पत्रकार जगतले कोभिड–१९ को महामारीबाट पीडित हुनुपरेकोमा मलाई दुःख लागेको छ । संक्रमणको जोखिमपूर्ण परिस्थितमा पनि समाचार संप्रेषण गर्दै पेशाप्रतिको दायित्व बहन गर्न तत्पर रहेकोमा सम्पूर्ण पत्रकारीता जगतलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।
अन्तमा, लोकतन्त्रको निरन्तर अभ्यासको क्रममा आमसञ्चारको क्षेत्रमा देखिएका कतिपय कमी कमजोरीहरू क्रमशः हट्दै जानेछन् भन्ने आशा गर्दै पत्रकार जगतले आचारसंहिता पालना समेतबाट जिम्मेवार पत्रकारिता गरिरहने विश्वास लिएको छु ।
धन्यवाद ।
२०७८ आश्विन ६, बुधबार
राष्ट्रपति भवन ।