सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्रतिनिधिमण्डललाई गर्नुभएको सम्बोधन

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र– इसिमोडका पदाधिकारीहरूलाई राष्ट्रपति भवनमा भेट्न र स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । नेपालमै अवस्थित प्रधान कार्यालयबाट हिमालय–हिन्दुकुश पर्वतीय क्षेत्रको पर्यावरण एवं जैविक विविधता संरक्षण गर्न सघाउने उद्देश्य लिएर इसिमोडको स्थापना भएको हुनाले यस संस्थाका पदाधिकारीहरूसँग अन्तरक्रिया र छलफल हुनु सान्दर्भिक हुन्छ भन्ने मलाई लाग्दछ ।

वातावरण संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत सरकारी निकाय‚ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था‚ विषय—विज्ञ एवं जानकार व्यक्तित्वहरूसँग मैले समय समयमा अन्तरक्रिया गर्दै आएको छु । हिमालय–हिन्दुकुश क्षेत्रमा जलवायु परिवर्तनले ल्याएका चुनौतीबारे वैज्ञानिक अनुसन्धान गर्ने‚ जलवायु अनुकूलनका लागि यस क्षेत्रलाई उपयुक्त हुने प्रविधिको विकास गर्ने र यस क्षेत्रका जनताको जीवनयापनमा प्रत्यक्ष जोडिने कार्यहरू इसिमोडले गर्दै आएकोमा मलाई खुसी लागेको छ ।

भर्खरै तपाईँहरूले गर्नुभएको प्रस्तुतिबाट यस क्षेत्रमा जलवायु परिवर्तनले पार्नसक्ने प्रभाव तथा जोखिम न्यूनीकरणका लागि अपनाउनु पर्ने दृष्टिकोण तथा कार्यक्रमका बारेमा थप स्पष्ट भएको छ । ईसीमोडको स्थापनाकालमा जलावायु परिवर्तनसम्बन्धी विषय धेरै मुखर भैसकेको थिएन । तापनि‚ हिमालय—हिन्दुकुश क्षेत्रमा अवस्थित नेपालसहित आठवटा मुलुकमा पर्वतीय पर्यावरण‚ कृषि‚ जैविक विविधता‚ जनजीविका लगायतका क्षेत्रमा अध्ययन अनुसन्धान गर्न उसैबेला आवश्यकता अनुभव गरिएकोबाट इसिमोडको दूरदर्शिता स्पष्ट हुन्छ ।

जलवायु अनुकूलन र जीविकोपार्जन सुधारका कार्यक्रममा महिला सहभागितालाई प्राथमिकतापूर्वक समावेश गर्दै आएकोमा ईसीमोडको सराहना गर्दछु । ज्ञानको विकास र अभिवृद्धिमा भूमिका खेल्ने विश्वविद्यालयहरुलाई समेत आफ्ना कार्यक्रमा ईसीमोडले सामेल गरेको जान्न पाउँदा मलाई खुसी लागेको छ ।

तपाइँहरुले २०७४ मंसिर १७ गते ईसीमोडले ललितपुरमा आयोजना गरेको एशियाको दिगो भविष्य सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा म सहभागी भएको स्मरण गराउनु भएकोमा धन्यवाद दिन चाहन्छु । उक्त सम्मेलनमा मैले विश्वको सर्वोच्च शिखर सगरमाथाको देश नेपाल सधैँ पर्वतीय विकासका सवालहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनु पर्दछ भन्ने पक्षमा रहेको उल्लेख गरेको थिएँ । वर्तमान सन्दर्भमा यो विषय अझ सान्दर्भिक रहेको छ ।

पछिल्ला दुई दशकमा जलवायु परिवर्तन मानवजातिले भोगिरहेको ठूलो चुनौतीका रूपमा प्रकट भएको छ । मानवीय क्रियाकलापबाट उत्सर्जन भएका हरितगृह ग्यासको कारणले पृथ्वीको तापमान चिन्ताजनक मात्रामा वृद्धि भैरहेको छ । यसले पृथ्वीको पारिस्थितिकीय प्रणालीमा परिवर्तन‚ मौसममा अचानक फेरबदल‚ अतिवृष्टि‚ अनावृष्टि जस्ता प्रवृत्तिहरू सघन हुँदै गैरहेका छन् ।

संयुक्त राष्ट्र संघको अन्तर सरकारी समूहद्वारा हालै प्रकाशित प्रतिवेदनले जलवायु परिवर्तन अब जलवायु संकटमा रूपान्तरण भएको पुष्टि गरेको छ । प्रतिवेदनले समग्र मानवजातिकै अस्तित्वका निम्ति खतराको घन्टी बजाएको छ भन्ने म ठान्दछु र वैज्ञानिकहरूले सुझाएका सिफारिश कार्यान्वयन गर्न हामीले आपतकालीन स्तरको तदारुकता देखाउनुपर्दछ भन्ने मेरो दृढ विश्वास छ ।

वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतापूर्वक कार्यान्वयनका निम्ति अघि बढाउने ईसिमोडजस्ता संस्थाको महत्व र आवश्यकता यसले बढाएको छ । नेपाल जस्ता पर्वतीय मुलुकहरूमा जलवायु परिवर्तनले ल्याएका आम समस्या छँदैछन् ।

पर्वतीय क्षेत्रमा जलावायु परिवर्तनबाट विशिष्ट चुनौती समेत उत्पन्न भएकाले पर्वतीय मुलुकहरू थप संवेदनशील बन्दै गएको महसुस मैले गरेको छु । संसारको तेस्रो ध्रुब समेत मानिने हिमालय–हिन्दुकुश क्षेत्रको हिउँ क्रमश पग्लिंदै जाने‚ हिमताल विस्फोट हुने‚ अचानक बाढी आउने‚ जाडो मौसम छोटो र तातो मौसम लामो हुँदै जाने‚ उच्च क्षेत्रमा बालीको चक्र परिवर्तन हुने जस्ता जलवायुका प्रवृत्तिले यस क्षेत्रको जीवन चुनौतीपूर्ण भएको छ  । मलाई लाग्दछ‚ विश्वका अन्य पर्वतीय मुलुकले पनि यी समस्या भोगिरहेको हुनुपर्दछ । त्यसैले‚ संयुक्त राष्ट्र संघका महत्वपूर्ण मञ्चमा पर्वतीय मुलुकहरूको साझा आवाज बनाउन सकिन्छ‚ जसका लागि ईसिमोड जस्तो संस्थाले उपलब्ध गराउने वैज्ञानिक अनुसन्धानले कूटनीतिक प्रयासलाई बल मिल्दछ ।

विश्वसनीय संस्था भएको हुनाले ईसीमोड आफैंले सदस्य राष्ट्रहरूको साथबाट प्रभावकारी पहल गर्न सक्दछ । साझा पर्वतीय विश्व मञ्चका लागि तपाइँर्हरूले सबैको साथ लिएर योजना बनाउनु भएको खण्डमा त्यसले सार्थक परिणाम निकाल्न मद्दत पुग्नेछ ।

केहि महिनापछि स्कटल्याण्डको ग्लास्गोमा आयोजना हुन गैरेहको अन्तर्राष्ट्रिय जलवायु सम्मेलन कोप–२६ को सन्दर्भमा पर्वतीय मुलुकहरूको साझा आवाज झनै महत्वपूर्ण हुने मलाई लाग्दछ  ।

पेरिस सम्झौतामा हस्ताक्षर भएपछिका वर्षमा जलवायु संकटको सामना गर्न तदारुकता बढेको भएपनि त्यो प्रयास पर्याप्त छैन ।  ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्रहरूलाई आफ्ना प्रतिबद्धता कार्यान्वयन गराउन समेत हामीले पर्वतीय मुलुकहरूको आवाजलाई ठूलो र बलियो बनाउनुपर्ने मैले अनुभव गरेको छु ।

पर्वतीय मुलुकहरूको अवस्था एकातिर छँदैछ । अर्कोतिर जलवायु परिवर्तनकै कारण समुद्रको सतह माथि उठ्नाले टापु राष्ट्रहरूले गम्भीर चुनौती सामना गरिरहेका छन् ।  त्यसरी समुद्रको सतह बढ्ने प्रमुख कारण ध्रुबीय र पर्वतीय हिउँ पग्लिनु हो । यसबाट टापु राष्ट्र र पर्वतीय राष्ट्रले भोग्ने समस्याको स्रोत पनि आपसमा जोडिन आएको देखिन्छ ।

पृथ्वी हाम्रो साझा घर भएकाले सम्पूर्ण मानव जातिले भोग्ने चुनौती पनि उस्तै हुनु आश्चर्य होइन  । यस चुनौतीको सामना गरी भावी पुस्तालाई सुन्दर र सुरक्षित पृथ्वी हस्तान्तरण गर्नु हाम्रो प्रथम दायित्व बन्न गएको छ  । यस कार्यमा सदस्य राष्ट्रहरूलाई सघाउन ईसीमोडले खेलेको भूमिकाको म प्रशंसा गर्दछु र आगामी दिनमा संस्थाको भूमिका र उपस्थिति अझ सशक्त बन्दै जाओस् भनी हार्दिक शुभेच्छा व्यक्त गर्दछु ।

आजको कार्यक्रममा महत्वपूर्ण प्रस्तुतीकरण गर्नुहुनै सबैमा हार्दिक धन्यवाद छ । यस प्रतिष्ठित संस्थाले डा.मेमा ग्याम्सो जस्ता अनुभवी विषयविज्ञको नेतृत्वमा अझै उचाई हासिल गर्ने विश्वास व्यक्त गर्दछु ।

धन्यवाद

२०७८ भाद्र ३०‚ बुधबार ।

राष्ट्रपति कार्यालय‚ महाराजगन्ज काठमाडौं