गौरा पर्व, २०७८ को शुभकामना सन्देश
गौरा पर्व २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदुरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वको अवसरमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा-अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको “बिरूडा” लाई प्रसादको रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन रहेको छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुल देवता प्रशन्न हुने जनविश्वास रहेको छ ।
यस प्रकारका लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्याउँदै आएका छन् ।
अन्तमा, यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्दछु । साथै कोभिड-१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने आशा लिएको छु ।
धन्यवाद ।
२०७८ भदौ १४ गते सोमबार ।