सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

 गौरा पर्व, २०७८ को शुभकामना सन्देश

गौरा पर्व २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाइहरूमा सुख‚ शान्ति र समृद्धिको  हार्दिक शुभकामना व्यक्त गर्दछु ।

भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म नेपालको सुदुरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने गौरा पर्वको अवसरमा व्रतालु महिलाहरू गौराघरमा गई शिव र गौरीको पूजा-अर्चना गर्दै पाँच प्रकारको अन्नको मिश्रणबाट बनेको “बिरूडा” लाई प्रसादको रूपमा ग्रहण गरी रमाइलो गर्ने प्रचलन रहेको छ । यस चाडमा व्रत बसी शिव र गौरीको पूजा गर्नाले  सुख, शान्ति प्राप्त हुने, ईष्ट र कुल देवता प्रशन्न हुने जनविश्वास रहेको छ ।

यस प्रकारका लोक परम्परा तथा सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यवद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएका छन्  ।

अन्तमा, यस सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीहरूमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य‚ सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना प्रकट गर्दछु । साथै कोभिड-१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने आशा लिएको छु ।

धन्यवाद ।

२०७८ भदौ १४ गते सोमबार ।