सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७८ को शुभकामना सन्देश

भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा-अर्चना गरी श्रद्धा भक्तिपूर्वक  यो पर्व मनाउने गर्दछन् । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।

यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आवद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने अपेक्षा लिएको छु ।

अन्तमा, श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्‍भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु । साथै कोभिड-१९ को संक्रमणबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने आशा लिएको छु ।

धन्यवाद ।

२०७८ भदौ १४ गते सोमबार ।