सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय महिला दिवस–२०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

१११औँ अन्तर्राष्ट्रिय महिला दिवस (आठ मार्च) को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरूलाई हार्दिक बधाई दिंदै सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संसारभरिका विभिन्न क्षेत्रमा काम गर्ने महिलाहरूले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरूलाई स्मरण गर्दै महिला अधिकार तथा लैङ्गिक समानताको पूर्ण प्राप्तिका लागि हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ ।

“महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” भन्ने राष्ट्रिय संकल्पका साथ हामी यस वर्ष १११औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका छौं । यस संकल्पलाई साकार पार्न महिला र पुरुषका बीचमा विद्यमान आर्थिक, सामाजिक तथा सांस्कृतिक विभेद हटाउनेतर्फ व्यक्ति, परिवार, समाज, संघसंस्था तथा राज्यका सबै निकायहरू अग्रसर हुनु आवश्यक छ । लैङ्गिक समानता प्राप्तिको अभियानमा जनसङ्ख्याको आधा हिस्सा ओगट्ने पुरुषको पनि सक्रिय सहयोग र सहभागिता पनि उत्तिकै जरुरी हुन्छ ।

लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सार्वजनिक सेवा, सुविधा र अवसरहरूमा महिलाहरूको समान पहुँच सुनिश्चित हुनु पर्दछ । यसका साथै नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाहरूको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्नको खाँचो महसुस गरेको छु ।

अन्तमा, यस दिवसले हामी सबैलाई महिलाहरूको हक, अधिकार र सम्मानप्रति पूर्ण संवेदनशील भई लैङ्गिक समानताका लागि क्रियाशील सम्पूर्ण अधिकारकर्मीहरूलाई थप उत्साहका साथ काम गर्ने प्रेरणा प्रदान गरोस् भनी कामना गर्दछु ।

धन्यवाद ।

२०७७ फागुन २४ गते, सोमबार ।