सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०७७ का अवसरमा गर्नुभएको सम्बोधन

माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री,

नातिकाजी स्मृति समाजका अध्यक्ष तथा पदाधिकारीहरू,

वरिष्ठ गायक प्रेमध्वज प्रधान,

कला र संगीतका साधकहरू,

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

नातिकाजी स्मृति समाजले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । नेपाली संगीत आकाशका उज्ज्वल नक्षत्रका रूपमा रहनुभएका स्वर्गीय नातिकाजी श्रेष्ठप्रति यस अवसरमा भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।

नेपाली सङ्गीत, कला, संस्कृति र सम्पदा मौलिक छन् । विविधतायुक्त संस्कृति हाम्रो राष्ट्रिय एकताको आधार रही आएको छ । भौगोलिक विविधताअनुसारका जातीय संस्कृति, गीत, सङ्गीत र बाजामा रहेको मौलिक विविधता नेपालको विशिष्ट पहिचान र जीवन शैली बनेको हो ।

विविधता भित्रको सहिष्णुता र बलियो एकताले नै नेपाली सङ्गीतको राष्ट्रिय स्वरुप सिर्जना गरेको छ । नातिकाजी नेपाली जनताको मनमा बस्ने यही मौलिक नेपाली सङ्गीतको कुशल सर्जक हुनुहुन्थ्यो । रेडियो नेपालसँग स्थापनाकाल लगत्तै आबद्ध भई नातिकाजीले मौलिक नेपाली संगीतको सिर्जना र गायन यात्रा प्रारम्भ गर्नुभयो । उहाँको यात्राले सयौं कालजयी गीत–संगीत सिर्जना गर्दै नेपाली संगीतमा नयाँ मानक स्थापित गरेको छ । यसरी नातिकाजी सहितका अग्रज साधकहरूले नेपाली संगीतमा विकास गरेको मौलिकताको विस्तार, संरक्षण र सम्बर्द्धन गर्नु हामी सबैको कर्तव्य हो ।

कलाकारहरू यो राष्ट्रका अमूल्य निधि र सम्पदा हुन् । कलाकारको साधना र तपस्याबाट सिर्जित सिर्जनाले राष्ट्रको पहिचान स्थापित गर्दछ । नेपाली सङ्गीतमा आधुनिक गीत सङ्गीतको मौलिक पहिचान स्थापित गर्न सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको महत्त्वपूर्ण भूमिका रहेको सर्वविदितै छ । नेपाली राष्ट्रिय भावका गीत सङ्गीत सिर्जनामा पनि उहाँको उत्तिकै महत्वपूर्ण योगदान रहेको छ ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने श्रष्टालाई राज्यको तर्फबाट उचित महत्व दिदै जानु नेपाली राष्ट्रिय हितको विषय हो । यस्तो महत्त्वपूर्ण कार्यमा नातिकाजी स्मृति समाजले पुर्‍याउँदै आएको योगदान’bout जानकारी पाउँदा मलाई खुशी लागेको छ ।

नेपाली सङ्गीतको क्षेत्रमा समर्पित स्रष्टाहरूलाई सम्मानित र पुरस्कृत गर्ने कार्य प्रशंसनीय र प्रेरणादायी रहेको छ । यसले नेपाली गीत-सङ्गीतको महत्त्वलाई थप उजागर गरेको छ । मुलुकलाई सांस्कृतिक एकताको मालामा गाँस्ने कडीको रूपमा समेत यस कार्यलाई लिन सकिन्छ । नातिकाजी स्मृति समाजले गर्दै आएका यस्ता कार्यमा सफलताको शुभकामना प्रकट गर्न चाहन्छु ।

आजको यस समारोहमा सम्मानित एवं पुरस्कृत हुनुहुने विशिष्ट स्रष्टा र सर्जकहरूमा हार्दिक बधाईसहित सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दछु । आगामी दिनमा उहाँहरूलाई आफ्नो कर्मक्षेत्रमा अझ दृढता, विश्वास र आत्मसम्मानपूर्वक लगनशील भई सिर्जनात्मक रूपमा सक्रिय रहन थप प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

अन्तमा, वरिष्ठ संगीत साधक श्री शम्भूजीत बाँस्कोटाको कुशल नेतृत्वमा नातिकाजी स्मृति समाजले निरन्तर सिर्जनात्मक कार्य गर्दै जानेछ भन्ने विश्वाससहित सम्पूर्ण नेपाली संगीत जगत्को उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ फागुन १७ गते, सोमबार