सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “नेपाल संवत् ११४१” को अवसरमा दिनुभएको शुभकामना सन्देश

“नेपाल संवत् ११४१” को शुभकामना सन्देश

‘नेपाल संवत् ११४१’ प्रारम्भ भएको पुनीत अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्र मास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ, जसलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखा लगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानहरूमा विशेष रूपमा मनाउने गरिन्छ ।

लिच्छवीकालीन राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । आजको दिनले राष्ट्रिय विभूति साख्वाको उक्त परोपकारी कार्यको स्मरण गर्दै समाजको उन्नति र प्रगतिका लागि निस्वार्थ भावले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु । नेपाली समाज सभ्य र सहिष्णु समाज हो‚ हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुन: नेपाल संवत् ११४१ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

अन्तमा‚ विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको अधिकतम पालना गर्दै नेपाल संवत्‌को नयाँ वर्ष मनाउनका लागि सबैमा आह्वान पनि  गर्दछु ।

धन्यवाद ।

२०७७ साल मङ्‌सिर १ गते, सोमबार ।