“तिहार पर्व, २०७७” को शुभकामना सन्देश
नेपालीहरूको महान् चाड तिहार, २०७७ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
काग तिहारको दिनबाट सुरू भएर क्रमश: कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार एवं गोवर्द्धन पूजा र भाइटीकासम्म पाँच दिन मनाइने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ । तिहारमा मानव जीवनसँग अभिन्न रूपमा जोडिएका पशुपंक्षी, धन–ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मी¸अजस्र प्राकृतिक स्रोतको प्रतीक गोवर्द्धन पर्वत र भाइको पूजा गरिनुका साथै देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने परम्परा रहेको छ । तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइ बीचको आपसी स्नेहलाई गाढा बनाउँदछ । यसरी नै देउसी भैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउँदछ ।
पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । उज्यालोलाई आफैमा प्रेरणाको विम्ब मानिन्छ । तिहारका माध्यमबाट प्रकट हुने मानवीय उज्यालोले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दछु ।
यस वर्षका सबैजसो चाडपर्वहरू नोबल कोरोनाभाइरस (कोभिड-१९)को महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको बृहत सुरक्षालाई मध्यनजर गर्दै मनाउनुपरेको छ । यस महामारीको खोप हालसम्म विकास भैनसकेकाले पूर्व सावधानीका लागि समय-समयमा हात धुन, मास्क सही तरिकाले प्रयोग गर्न तथा व्यक्तिहरू बीच भौतिक दूरी कायम गर्न भुल्नु हुँदैन । चाड पर्वको समयमा पारिवारिक तथा सामाजिक अन्तरक्रियाहरू अझ बढ्ने हुँदा पूर्व सावधानी पालना गर्नु झनै जरुरी हुन आएको छ ।
अन्तमा, तिहार पर्वले सम्पूर्ण नेपालीहरू बीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्याउने विश्वासका साथ पुन: तिहार पर्व, २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०७७ साल मङ्सिर १ गते, सोमबार ।