सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारबाट भए गरेको कामका बारेमा जानकारी

साउन २३ गते, काठमाडौं ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आज राष्ट्रपति भवनमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक श्री ईश्वर पोखरेल, माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली र माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालबाट नोबल कोरोनाभाइरस (कोभिड-१९) महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनु भयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा उल्लेख गर्नुभयो । तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिनुभयो ।