सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बकर ईद (इदुल जोहा) पर्व २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बकर ईद (इदुल जोहापर्व, २०७७ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

बकर ईद सद्‍भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड हो । मुस्लिम धर्मावलम्बीहरूले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु ।

नेपाल विविध जातजाति, भाषा र संस्कृतिको संगम हो । विभिन्‍न समुदायद्वारा मनाइने यस्ता पर्वहरूले आम नागरिकलाई सामाजिक सांस्कृतिक रूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढंगले राष्ट्रिय एकता सुदृढ गर्न समेत मद्दत पुर्‍याउने अपेक्षा लिएको छु।

अन्तमा, नोबेल कोरोनाभाइरस (कोभिड-१९) महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउनु हुनेछ भन्‍ने आशा गरेको छु । यस बकर ईद (इदुल जोहा) पर्वले स्थिरता र दिगो शान्ति सहित  सामाजिक आर्थिक विकासका कार्य मार्फत “समृद्ध नेपाल सुखी नेपाली” को साझा संकल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ साउन १७ गते शनिबार