सम्माननीय राष्ट्रपतिज्यूबाट अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा व्यक्त शुभकामना सन्देश

२८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको शुभकामना सन्देश

“दिगो विकासको लक्ष्य अपाङ्गतामैत्री भविष्य” भन्ने राष्ट्रिय संकल्पका साथ मनाउन लागिएको अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको सन्दर्भमा फरकक्षमता भएका व्यक्तिहरूलाई विकासको मूलप्रवाहमा समावेश गरी आत्मनिर्भर बनाउनु राज्यको गहन दायित्व हो । नेपालमा फरकक्षमता भएका व्यक्तिहरूको अधिकार प्रबर्द्धनका साथै संयुक्त राष्ट्रसंघीय अपाङ्गतासम्बन्धी महासन्धिमा उल्लेखित अधिकारहरू सुनिश्चितताका लागि राज्य थप संवेदनशील बनेर कार्यान्वयन तहमा जानु पर्दछ भन्ने मलाई लागेको छ ।

फरकक्षमता भएका व्यक्तिहरूलाई शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पहुँच, अपाङ्गतामैत्री कानुन, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, भेदभावबाट मुक्ति, निर्णय प्रकृयामा सहभागिताजस्ता विषयहरूलाई आत्मसात गरी स्रोत र साधनको आवश्यक प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजान सकेमा समतामूलक समाज निर्माण गर्न सकिने विश्वास मैले लिएको छु । फरकक्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन अपाङ्गमैत्री सरंचना क्रमशःनिर्माण गर्दै जानुपर्ने खाँचो रहेको महसुस गरेको छु ।

अन्तमा, अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा यस क्षेत्रसँग सम्बद्ध सबैमा थप क्रियाशील भई कार्य गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

२०७६ साल मंसिर १७ गते, मंगलबार ।