सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्‍चमीको उपलक्ष्यमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्‍चमीको शुभकामना सन्देश

मार्ग शुक्ल पञ्‍चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्‍न भएको विशेष सम्झनामा मनाईने विवाह पञ्‍चमीको पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

आदिकालमा ज्ञान, शिक्षा र साँस्कृतिक वैभवले सम्पन्‍न मिथिला भूमिमा रहेको आदर्श राज्य र राजश्री जनकको महिमाको गायन युगौं युगदेखि हुँदै आएको
छ । यस्तो गौरवपूर्ण स्थलमा हुने विवाह पञ्‍चमी महोत्सवको आफ्नै ऐतिहासिक महत्व छ । यस्ता पर्वहरूले आदर्श एवम् उच्च मर्यादित समाज निर्माण र राष्ट्रिय एकताको भावना जागृत गर्न सहयोग पुर्‍याउने विश्‍वास मैले लिएको छु ।

अन्तमा, प्राचीन साँस्कृतिक पर्व विवाह पञ्‍चमीले हामीहरुबीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता सुदृढ गर्न मद्दत पुगोस् भन्दै विवाह पञ्‍चमीको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ साल मंसिर १५ गते, आइतबार ।