संविधान दिवस तथा राष्ट्रिय दिवस २०७४ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको सन्देश

नेपाली जनताको लामो संघर्ष, वलिदान र प्रतिक्षापछि संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन आज असोज ३ गते तेस्रो संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपाल अहिले एक महत्वपूर्ण ऐतिहासिक चरणमा रहेको छ । संविधान जारी भएपछि सम्पन्‍न गर्नु पर्ने स्थानिय तहको निर्वाचन सम्पन्‍न भैसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ ।यी सवै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानूनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्‍ने मैले विश्‍वास लिएको छु ।

आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा मिल्ने र यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुने विश्‍वास लिएको छु ।

नेपालको संविधानले धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्‍चित गर्नुका साथै
सबै तह, तप्का, वर्ग, क्षेत्रका जनताको हक अधिकार प्रत्याभूत गरेको छ । यो संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको छ ।

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । तसर्थ, राजनीतिक संक्रमणकाल समाप्त भएको वर्तमान परिप्रेक्ष्यमा कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवर्द्धनमा केन्द्रित हुन जरुरी छ ।

अन्त्यमा, ठूलो बलिदानी र संघर्षबाट प्राप्त लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई म आव्हान गर्दछु ।

धन्यवाद !

मितिः २०७४ साल असोज ३ गते मंगलबार ।