विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू संविधान दिवस तथा राष्ट्रिय दिवस २०७५  का अवसरमा नेपालका लागि विभिन्न मित्रराष्ट्रहरुका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुका लागि राष्ट्रपतिको कार्यालयद्वारा आज मिति २०७५ साल असोज ३ गते मंगलबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित साँस्कृतिक कार्यक्रम तथा रात्रिभोज कार्यक्रममा सरीक हुनुभयो । उक्त समारोहमा आमन्त्रित सबैलाई स्वागत गर्नुहुँदै सम्माननीय राष्ट्रपतिज्यूले राजनीतिक संक्रमणको अन्त्य भई लोकतन्त्रको संस्थागत विकास एवम् जनआकांक्षा अनुरुप देशको सर्वतोमुखी सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न सवैलाई आह्वान समेत गर्नुभयो । सम्माननीय राष्ट्रपतिज्यूले विश्वका सबै राष्ट्रसँग सम्बन्ध विकास र सम्बन्ध अभिवृद्धि गर्न प्रतिवद्ध रहेको र संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका मूल्य मान्यताप्रति सदा दृढ रहेको बताउनु हुँदै लोकतन्त्रको स्थापना र संस्थागत विकास तथा देशको सामाजिक, आर्थिक रुपान्तरण अभियानमा सघाउने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघ संस्थाप्रति धन्यवाद समेत दिनु भयो । उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, प्रतिनिधि सभाका सम्माननीय सभामुखज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरु तथा नेपाल सरकारका उच्च अधिकारीहरु, नेपालका लागि विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधीज्यूहरु लगायतको उपस्थिति रहेको थियो ।

(छविन्द्र पराजुली)

प्रवक्ता