सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन

सम्माननीय प्रधानमन्त्री,

सम्माननीय प्रधान न्यायाधीश,

प्रतिनिधि सभाका सम्माननीय सभामुख,

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,

माननीय मन्त्रीहरु,

विशिष्ट महानुभावहरु,

महामहिम राजदूत तथा नियोगप्रमुख दम्पत्ति,

राष्ट्रसेवकहरु,

भद्रमहिला तथा सज्जनवृन्द !

आज संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको सुखद उपलक्ष्यमा आयोजित यस कार्यक्रममा तपाइँहरु सबैलाई राष्ट्रपति भवन, शीतल निवासमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ ।

हामीले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा स्वदेश तथा विदेशमा विशेष समारोहका साथ उल्लासपूर्वक मनाउँदै आएका छौँ ।

लोकतन्त्रका आधारभूत मान्यताहरु वाक तथा प्रकाशन स्वतन्त्रता, मौलिक हक, जनतामा निहित सार्वभौमसत्ता, मानव अधिकार  र सामाजिक न्यायका लागि नेपाली जनताको आकांक्षा र अथक संघर्षको प्रतिफलका रुपमा नेपालको संविधान रहेको छ ।

संविधानको मर्म र भावना अनुसार शान्त, सुखी र सम्पन्न नेपाल बनाउन हामी प्रतिबद्ध रहेका छौँ ।

संविधानले राजनीतिक संक्रमणकाल समाप्त पारेको छ ।

लोकतन्त्रको संस्थागत विकासका साथै संघीय शासन पद्धतिमा मुलुक पदार्पण गरेको छ ।

नयाँ संविधान बमोजिम स्थानीय, प्रादेशिक र संघीय तीनै तहको निर्वाचन सम्पन्न भैसकेको छ ।

देशको सामाजिक आर्थिक विकासलाई केन्द्रविन्दूमा राखी अघि वढ्न यस अवसरमा म तीनै तहका जनप्रतिनिधि, राष्ट्रसेवक, राजनीतिक दल र आमनागरिक समक्ष आव्हान गर्दछु ।

विशिष्ट कूटनीतिक समुदाय,

विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल रहेको यस धर्ती नेपालका जनता शान्ति, सद्भाव र भातृत्वका पक्षमा सदैव उभिएका छन् ।

संयुक्त राष्ट्र संघको बडापत्र र त्यसको नीतिप्रति हाम्रो पूर्ण सम्मान रहिआएको छ ।

त्यसैको सिद्धान्त अनुसार हामी हाम्रा छिमेकीलगायत विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सधैँ तत्पर छौँ ।

संविधानको सर्वोच्चता, कानूनको शासन, मानव अधिकार र लोकतन्त्रका सबै मूल्य मान्यताप्रति नेपाल सदैब प्रतिबद्ध रहिआएको छ ।

नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क,विमस्टेकजस्ता क्षेत्रीय सहयोग संगठनको अवधारणाप्रति समर्पित मुलुक हो ।

त्यसैले हामी यसक्षेत्रका राष्ट्रहरुसँग मिलेर आर्थिक विकासलगायतका साझा चासोबाट लाभान्वित हुन चाहन्छौँ ।

त्यसैगरी विश्वका सबै मुलुकसँग पंचशीलका आधारमा शान्तिपूर्ण सुमधुर सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छौँ ।

मलाई आशा छ, हाम्रो यो सरोकारलाई छिमेकीलगायत सबै मित्रराष्ट्र एवं शुभेच्छुक अन्तर्राष्ट्रिय संघसंस्थाहरुले सकारात्मकरुपमा बुझ्नु भएको छ ।

अन्तमा, नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवसको महत्वपूर्ण अवसरमा आयोजित यस समारोहमा नेपालमा लोकतन्त्रको स्थापना र संस्थागत विकासका निम्ति सद्भाव प्रकट गर्ने र सामाजिक आर्थिक रुपान्तरण अभियानका साझेदार मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थाप्रति धन्यवाद दिन चाहन्छु ।

२०७५ साल असोज ३ गते बुधबार (सेप्टेम्बर १९, २०१८)

शीतलनिवास, काठमाडौँ