फागु पूर्णिमा (होली) पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

फागु पूर्णिमा (होली) पर्व, २०७३ का  अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश

 

सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‌भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको छ । मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संबर्द्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्व समेत हो ।

अन्तमा, यस महान पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उमंगसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्‌भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, भेषभूषा, संस्कृति एवम् परम्पराहरुको  संरक्षण र सम्बर्द्धन गर्ने प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

फागु पूर्णिमा,

२०७३ फागुन २९ गते आइतवार ।