माननीय सूचना तथा संचारमन्त्री,
प्रेस काउन्सिल नेपालका अध्यक्ष,
संचारकर्मी मित्रहरु,
भद्र महिला तथा सज्जनवृन्द !
प्रेस काउन्सिल नेपाल स्थापना भएको करिब आधा शताब्दी हुन लागेको सन्दर्भमा आयोजित ४७ औँ वार्षिकोत्सव समारोहको अवसरमा काउन्सिल सम्बद्ध सबैलाई शुभकामना र बधाई दिन चाहन्छु । यस महत्वपूर्ण अवसरमा पत्रकारिताक्षेत्रले मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक रुपान्तरणमा निर्वाह गरेको सकारात्मक भूमिकाको स्मरण गर्दछु ।
समाजका अत्यन्त जागरुक र राष्ट्रको समष्टिगत विकास तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना सम्पे्रषण गर्ने अहं दायित्व बोकेको पत्रकारिता क्षेत्र राज्यको चौथो अंगको रुपमा रहेको मानिन्छ । यस पक्षलाई आत्मसात गर्दै हाम्रो सञ्चार माध्यम राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार एवम् उत्तरदायी बनाउन सम्बद्ध पक्षले सदा प्रेरित गरिरहनेछ भन्ने मैले विश्वास लिएको छु । पत्रकारिता पेशाका मूल्य तथा मान्यतालाई आत्मसात गरी लोककल्याणकारी राज्यले अंगिकार गरेको सामाजिक न्यायमा आधारित समाजको स्थापनामा राज्यको चौथो अंगले मार्गदर्शक र नेतृत्वदायी भूमिका खेल्नसक्ने तथ्यलाई दृष्टिगत गरी यस पेशालाई अझ बढी जिम्मेवार र उत्तरदायी बनाइ जनविश्वास बढाउने कार्यमा प्रेस काउन्सिल सधैँ सजग हुनुपर्दछ ।
पत्रकारिता निकै फराकिलो विषय हो । सूचना तथा संचार प्रविधिमा आएको अभूतपूर्व विकासका कारण यो क्षेत्रको दायरा अझ बढि व्यापक र संवेदनशील हुँदै आएको छ । संचार माध्यम विकासक्रमको इतिहासलाई हेर्दा नेपालमा छापामाध्यमको संगठित शुरुवात एकसय पन्ध्र वर्ष पहिले गोरखापत्र साप्ताहिकबाट भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना जनमानसमा पु¥याउन, देशमा व्याप्त अशिक्षा, कुरीति र अन्धविश्वासलाई हटाउन तथा विभिन्न विषयमा लाभदायी सूचना पु¥याउन गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । २००७ सालको ऐतिहासिक परिवर्तनसँगै देशको पहिलो विद्युतीय संचार माध्यमका रुपमा रेडियो नेपालको स्थापना भएको परिप्रेक्ष्यमा हाल छापा, रेडियो, टेलिभिजन, अनलाईनजस्ता संचार माध्यमहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । यसरी संचार माध्यमको व्यापक विकासका साथै यिनीहरुबीच तीब्र प्रतिस्पर्धा पनि बढेको छ । यस्तो अवस्थामा नियमनकारी निकाय÷संस्थाको हैसियतमा काउन्सिलले यसै अनुरुप आफ्नो दक्षता पनि बढाउनु आवश्यक छ ।
विगत तीन दशक अवधिमा विशेषतः २०४६ सालको राजनीतिक परिवर्तनपछि छापा माध्यम, टेलिभिजन, एफएम रेडियो र अनलाईन क्षेत्रमा संख्यात्मक र गुणात्मक दुवै दृष्टिले विकास भएको छ । २०६२÷६३ को जनआन्दोलन र देशमा आएको आमूल राजनीतिक परिवर्तन, शान्ति प्रक्रिया, संविधानसभाको निर्वाचन तथा गत वर्ष नेपालको संविधान जारी गर्ने ऐतिहासिक घटना यी सबै युगान्तकारी परिवर्तन र विकासमा नेपालको संचार जगतले सशक्त अभियन्ताको भूमिका निर्वाह गरेको छ । साथै हाम्रो संचार क्षेत्रले लोकतन्त्र, मौलिकहक, मानवअधिकार तथा देशका अल्पसंख्यक, महिला, बालबालिक र विपन्न तथा उत्पीडित वर्गका हक र अधिकारको प्रभावशाली पहरेदारको काम गर्दै आएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्ने नेपालको संविधान जारी भएपछिको परिप्रेक्ष्यमा संवैधानिक प्रावधानको पालना र सम्पादनका अतिरिक्त राज्यको चौथो अंगको ध्यान देशलाई दू्रततर गतिमा अघि बढाउने कार्यमा सहयोगीको रुपमा हुनुपर्ने देख्दछु । अबका दिनमा देशमा न्याय, लोककल्याण, शान्ति र स्थिरतालाई दीगो रुपमा प्रश्रय दिनुका साथै पत्रकारिताले उत्तरदायीढंगले प्राथमिकतामा राख्नुपर्ने क्षेत्रहरुमा नेपालको सर्वोच्च हितमा मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संघसंस्थासँगको सम्बन्ध र आर्थिक कूटनीतिको उपयोग, प्रकृति संरक्षण र लोपोन्मूख जीवजन्तु तथा वनस्पतिको जगेर्ना, प्राकृतिक प्रकोपबाट बच्ने सावधानी र उपाय, खाद्य सुरक्षा, जनस्वास्थ्य, शिक्षा, खेलकूद, वन, अर्गानिक कृषि लगायत कृषिमा आधुनिकीकरण, साँस्कृतिक सम्पदा तथा पुरातात्विक संरक्षण, पर्यावरण र जलवायु परिवर्तन, पर्यटन आदि पर्ने देखेको छु ।
प्रेस काउन्सिल नेपाल सीमित स्रोत साधनका बाबजूद नेपाली पत्रकारिता क्षेत्रको स्वस्थ्य विकासका लागि निरन्तर क्रियाशील रहँदै आएको छ । आगामी दिनमा सञ्चारमाध्यममा भएको बृद्धिसँगै उत्पन्न हुने समस्याहरूको यथोचित समाधान गर्दै नेपाली पत्रकारिताजगतलाई अझ निष्पक्ष, दीगो, टिकाउ र प्रभावकारी बनाउन काउन्सिल अझ सजग भएर लाग्नुपर्ने चुनौती रहेको छ ।
अन्तमा, काउन्सिलको स्थापनादेखि यसको संस्थागत निरन्तर विकासमा प्रत्यक्ष र परोक्ष योगदान पुर्याउनु हुने सबैलाई धन्यवाद दिँदै यस महत्वपूर्ण अवसरमा पुरस्कृत हुने महानुभावहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । साथै राष्ट्र र जनताप्रति अझ जिम्मेवार र प्रतिवद्ध भई स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिताको स्वस्थ्य विकास गर्न काउन्सिल सक्षम हुनेछ भन्ने अपेक्षा गर्दछु ।
धन्यवाद !
२०७३ साल असोज ६ गते बिहीबार