सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७६ साल बैशाख २ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीज्यूबाट राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा आर्थिक वर्ष २०७४/०७५ मा नेपाल सरकारले गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा ५३ बमोजिम पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले “समृद्ध नेपाल सुखी नेपाली” को साझा संकल्प साकार पार्न नेपाल सरकार अघि बढिरहेको परिप्रेक्ष्यमा यो महान लक्ष्य हासिल गर्न राज्यका सम्पूर्ण अङ्ग र निकायहरुलाई थप सशक्त ढंगले क्रियाशिल हुनुपर्ने कुरा बताउनु भयो । सो समारोहमा माननीय उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री श्री ईश्वर पोखरेल, माननीय गृहमन्त्री श्री रामबहादुर थापा, माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली, माननीय कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री श्री भानुभक्त ढकाल, सम्माननीय प्रधानमन्त्रीका मुख्य सल्लाहकार श्री विष्णु प्रसाद रिमाल लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता